रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल पुन सञ्चालन गर्नु पर्ने माग कृषकहरुको छ । तीन वर्षदेखि बन्द रहेको मिल सञ्चालनको पहलका लागि उनीहरूले विभिन्न राजनीतिक दल, सांसद र जनप्रतिनिधिसंग भेट गरेर ज्ञापन पत्र समेत बुझाएका छन् । उखु उत्पादक संघ रौतहटको अगुवाइमा जिल्लाका किसानले प्रधानमन्त्री पुष्पकमल दाहाल, पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर मिल सञ्चालनका लागि पहल थाल्न अनुरोध गरेका हुन् । मिलको लिलाम खारेजी गरी सञ्चालनमा नआएमा असोज २२ देखि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी थालिएको संघले जानकारी दिएको छ । मिल बन्द हुँदा उखु खेती गर्दै आएका धेरै किसानलाई समस्या पारेको संघका अध्यक्ष अशोक कुमार यादव बताउनुभयो । श्री राम सुगर मिल पुन सञ्चालनका लागि विभिन्न निकायमा जानकारी गराउँदा पनि सुनुवाई नभएको उहाँको गुनासो छ । मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३ सय २५ कर्मचारी बेरोजगारी भएको उहाँको भनाई छ । हरेक वर्ष करोडौं घाटा बेहोर्दै आएको र उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई तलब–भत्ता दिन समेत आर्थिक अभाव रहेको भन्दै व्यवस्थापन पक्षले मिल सञ्चालन रोकेको थियो । मिल सञ्चालकहरूले भने उद्योग लिलाम बिक्री भईसकेको दाबी गरेको छ । चिनी मिलका नाममा रहेको ऋण तिर्न नसकिएकाले लिलाम गरिएको जनाइएको छ । मिलको लिलाम शिवशक्ति ग्रुपले सकारेको नेपाल बैंकले बताएको छ । गोल्छा समूहको स्वामित्वमा रहेको मिल करोडौं रुपैयाँको घाटा र बाध्यात्मक परिस्थिति रहेको जनाउँदै व्यवस्थापन पक्षले ०७७ साउन १० बाट बन्द गरेको हो । २०४९ सालमा शिलान्यास भई ०५१ बाट संञ्चालनमा आएको मिलले बारा, पर्सा, रौतहटका किसानको उखु क्रसिङ गर्ने गरेको थियो । जिल्लामा १२ हजार उखु किसान रहेको उखु उत्पादक संघ रौतहटले जनाएको छ ।