छठ पर्वको मुख्य दिन आईतबार साँझ अस्ताउँदो सूर्यलाई अध्र्य दिई पूजा गरिदैछन् । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवाएवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठा पूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । छठको मुख्य अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन नहाय खायसँगै छठ सुरु भएको हो । श्रद्धा पूर्वक मनाइने छठ पर्वको दोस्रो दिन ब्रतालुले खरना गरेका हुन् । खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँचुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूधमिसाएर खीर पकाई केराको पातमा राखेर छठि मातालाई चढाउने गर्दछन । खीर चढाई सकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् । त्यसलाई खरना भनिन्छ । चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरीन्छ । छठको मुख्य दिन आइतबार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।