रौतहटको यमुनामाई गाँउपालिका–३ मल्हेनियबाट सशस्त्र प्रहरीले ४ थान हतियार बरामद गरेको छ । घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सुचनाको आधारमा सशस्त्रको इन्टलिजेन्स ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । यमुनामाई गाउपालिका–३, मल्हनियास्थित १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखेको अमेरिमामा बनेको लेखिएको दुई थान पेस्तोल, भारतमा बनेको लेखिएको एक पेस्तोल, पेस्तोलका म्यागजिन ६ थान, वाल राउन्ड १३ थान र एउटा एयरगन बदामद गरेको हो । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हेडक्वाटर रौतहटले जनाएको छ । अवैध हतियार बारे सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले सूचना पाएपछि रौतहट आएको थियो । अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा मल्हेनिया टोलमा स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका छन् । ढुंगामुडा प्रहारबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुंगाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् । त्यस क्रममा सशस्त्र प्रहरीका ४ जना समान्य घाइते भएको ११ नम्बर गणले बताएको छ । ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको बीएबी ३२८० नम्बरको गाडीमा क्षति पुगेको छ । सशस्त्र प्रहरीको सुरक्षा बेस देवाहीको ना१झ ७९७ नम्बरको टाटा टेलको गाडीको पछाडीको सिसा फुटेको छ । प्रदेश ०३–००१ ब ३९९ नम्बरको मोटरसाईकलमा समेत क्षति पुगेको छ । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।