रौतहटको गरुडा बजारमा सडक किनारमा घुम्ती, ठेला वा फुटपाथमा राखिएको पसल वा अतिक्रमण गरेर राखेको सामग्रीलाई गरुडा नगरपालिकाले हटाएको छ । गरुडा नगरपालिकाको मुख्य चोकको सडक खण्डको कालोपत्रे सडकमा नै टाँसेर राखेको घुम्ती, ठेला वा फुटपाथका सामन आईतबार नगरपालिकाको अग्रसरतामा हटाईएको हो । यहाँको बजार क्षेत्र तथा बस बिसौनीको सडकमा फलफुल पसल हुँदा बस, रिक्सा तथा म्याजिक लगायतका सवारी आवतजावतमा कठिनाई भएको थियो । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई गरुडा नगरपालिकाले निरन्तरता दिएको हो । गरुडा नगरपालिकाको वडा नम्बर ४ गरुडा सडक पेटीमा राखिएको पसलहरुलाई हटाएको छ । श्रीराम सुगर मिल्स देखि ईलाका प्रहरी कार्यालय गरुडासम्मको सडकको किनारमा राखिएको घुम्ती, ठेला वा फुटपाथमका पसल हटाईएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जयसवालले बताउनुभयो । उहाँका अनुसार पटक पटक सूचना जारी गरेर जानकारी दिँदा समेत वेवास्ता गरेपछि हटाईएको हो । सडक अतिक्रमण गरेर व्यापार÷व्यवासायका कारण सडक दुर्घटनाको जोखिम समेत बढेको उहाँको तर्क छ । फुटपाथ व्यापारीले मनलाग्दी किसिमले जथाभावी सडकका किनारमा पसल राख्ने गरेकाले व्यवसायमा समेत असर परेको सटरका पसल संचालकहरुको गुनासो पनि आएपछि उद्योग बाणिज्य संघ गरुडाले पालिकाको ध्यानकर्षण गराएको थियो । उद्योग वाणिज्य संघ गरुडाले फुटपाथमा पसल तथा व्यवसाय बन्द गर्नु पर्ने अडान राख्दै आएको छ । यहाँ हाट बजार लागेको दिन वा अन्य दिन फुटपाथमा नै व्यपार व्यवसाय हुने गरेको यहाँका स्थानियहरु बताँउछन् । फुटपाथ व्यवसायका कारण सडक साघुँरो हुने र दुर्घटनाको जोखिम बढ्ने उनीहरको भनाई छ । सडक किनारमा यात्रु चढ्न वा ओराल्ने स्थान नजिकमा नै फुटपाथ पसल संञ्चालनमा आउँदा निकै समस्या भएको थियो । गरुडाका पवन कुमार उपाध्यायले नगरपालिकाले गरेको यस कार्यको प्रशंसा गर्दै फुटपाथ व्यवसायीलाई पनि व्यस्थापनमा चासो दिनु पर्ने बताउनुभयो । गरुडा नगरपालिका र सरोकार राख्ने निकायहरुले ती सडकमा व्यापार गर्ने ब्यापारीहरुलाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण मिलाउनु पर्ने माग नागरिक समाजको छ । सडक किनारको फुटपाथमा पसल व्यवसाय नगर्ने गरुडा नगरपालिकाले यसअघि सचेत समेत गराएको थियो ।