मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले घरेलु तथा साना उद्योगको कार्यालय धनुषाको छड्के अनुगमन गर्नुभएको छ । आफनो मन्त्रालय मातहत रहेको कार्यलयबाट भएको सेवाप्रवाहका बारेमा बुझ्न उहाँले छड्के अनुगमन गर्नुभएको हो । घरेलु तथा साना उद्योगको कार्यालयबाट सेवाग्राहीले सहज सेवा नपाएको , कर्मचारीको व्यवहार र कार्यशैली चित बुझ्दो नभएको गुनासो आएपछि मन्त्री भट्टराई विहिबार सेवाग्राही बनेर कार्यालयमा पुग्नुभएको थियो । एक जना सेवाग्राही संग मन्त्री भट्टराईले मुखमा मास्क लगाएर घरेलु कार्यालयमा प्रवेश गर्नुभएको थियो । सेवाग्राहीसंंगै रहेका मन्त्रीले कार्यालयको सेवा प्रवाह र कर्मचारीको व्यवहार लगायतका विषयमा निगरानी गर्नुभएको थियो । अन्ततः मन्त्री भट्टराईले मुखको मास्क खोलेपछि कार्यालयका कर्मचारीहरुले चिनेका हुन् । मन्त्री भट्टराई आफै विभिन्न फाँटमा पुगेर निरीक्षण गर्दा कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि नभेटिएको हो । केहि कर्मचारी बिदामा बसेको पाइयो भने कर्मचारीहरु सरकारी पोसाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेको पाईएको थियो । उहाँले कार्यालयमा रहेका कर्मचारीको विवरण, हाजिरी भएका वा अनुपस्थित भएकाहरुको बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले कार्यालयमा समयमा उपस्थित हुन, सेवाग्राहीको काममा ध्यान दिन, अनुशासनको पालन गर्न र कार्यालयका कागपत्रलाई राम्रोसंग राख्न सुझाव दिनुभयो । आफु सेवाग्राही वनेर यस कार्यालयमा आउँदा कमि कमजोरी देखिएको उल्लेख गर्दै उहाँले यसलाई सुधार गरेर लैजान निर्देशन दिनुभयो । सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा कार्यालयका कर्मचारीहरुबाट जानकारी लिनुभयो । यो प्रदेश सरकारसँग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिका टिप्पणीको अन्त्य हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले कार्यालयमा आएको सेवाग्राहीसँग पनि भलाकुसारी गर्नुभएको थियो । उहाँले सेवाग्राहीसँग सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे कुराकानी गर्नुभएको सचिवालय सदस्य एवम् यूवा नेता ध्रुव घिमिरेले जानकारी दिनुभयो । उहाँले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन समेत दिएको यूवा नेता घिमिरेले बताउनुभयो । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको उहाँले उल्लेख गर्नुभयो । सम्भवतः मधेश प्रदेशमा उद्योग बाणिज्य तथा पर्यटन मन्त्रीको तर्फ बाट भट्टराईले नै कार्यालयको छड्के अनुगमन गर्नुभएको हो । यस अभियानलाई अगामी दिनमा समेत निरन्तरता दिने भट्टराई सचिवालयले जनाएको छ ।