मधेस प्रदेशको पर्यटकिय क्षेत्रको रुपमा पछिल्लो समयमा सर्लाहीको बागमती नगरपालिकामा रहेको मानव निर्मित भरत ताल अहिले परिचित छ । बागमती नगरपालिका वडा नं. ४ र १२ मा भरत ताल १ सय २१ बिघामा फैलिएको छ । यहाँका घुम्नका लागि आउने दैनिक आन्तरिक पर्यटकको घुईचो लाग्न थालेपछि साहसी खेल, मनोरञ्जन सहितका सुविधाहरु थपिएको छ । प्राय घुम्न आउने पर्यटकहरु बोटिङ र साहसी खेलको रुपमा रहेको रोपलाईन साईकल तथा जिपलाई गर्ने गर्दछन् । अझ गर्मीको यो समयमा अधिक मात्रामा आन्तरिक पर्यटकको घुईचो रहने गरेको छ । चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ । प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको रौतहट गरुडाका स्थानिय पवन कुमार उपाध्यायले बताउनुभयो । तालको वरिपरि रहेको बगैंचाले पर्यटकहरूको मन झनै लोभ्याउने गरेको उहाँको भनाई छ । पहिलो पटक भरत तालमा पुग्दा आनन्दित र रमाईलो महसुस भएको उहाँले बताउनुभयो । स–परिवार घुम्ने वातावरण रहेको दावी गर्दै उहाँले बालबालिकालाई पनि खेल्ने र रमाईलो गर्ने स्थान रहेको बताउनुभयो । भरत ताल बनेपछि ताल घुम्ने र बोटिङ गर्न रहर भएकाहरूलाई अन्य प्रदेशका जिल्लमा जानुपर्ने बाध्यता टरेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखराको लेक साइडको अनुभूति दिने भरत ताल बनेको छ । ताल बनेपछि अहिले सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेका छन् । यदपी यो गर्मी मौषममा शितलता लिन आउनेको संख्या अधिक मात्रमा रहेको छ । हावाको बेगसँगै छल्किने तालको पानी, नजिकैबाट देखिने हरिया चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने गरेको छ । दिउँसो गर्मीले त्यति पर्यटक नआए पनि बिहान र बेलुका फोटो खिच्नेहरूको ठूलो भीड लाग्ने गर्छ । भरत ताल नवविवाहिता जोडीहरूदेखि लिएर युवायुवतीहरूको घुम्ने पहिलो रोजाइको थलो बनेको छ । बाग्मती ईन्टरटेनमेन्ट प्रालीका अध्यक्ष गौतम खड्काले दुई वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको छ । तालमा बोटिङ चढ्दा ठुलो जहाजमा ५ सय सानो डुङ्गामा ३ सय रुपैयाँ शुल्क लाग्ने गर्दछ । भरत तालमा ५ वटा घोडा र एउटा उँट, एउटा मिनी रेल पनि सञ्चालनमा छ जसमा पर्यटकहरू चढेर घुम्ने, फोटो खिच्ने र भिडियो बनाउने गरेको बाग्मती ईन्टरटेनमेन्ट प्रालीका अध्यक्ष खड्काले जानकारी दिनुभयो । २०७६ सालदेखि बागमती माछापोखरी भनेर बाँझो जमिनमा पोखरी खन्ने काम सुरु गरेको पोखरी बनाउँदै जादाँ पछि तालको रुपमा परिणत भएको हो । पोखरीलाई आकर्षण बढाउन फुटपाथ र बगंैचा बनाइएको छ । मधेश प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले मधेश प्रदेशको आर्थिक समृद्धिको रुपमा यो ताल रहेको बताउनुभएको छ । यस तालको विकासका लागि प्रदेश सरकारले ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो । पूर्वपश्चिम लोकमार्गबाट तीन किलोमिटर दक्षिणमा रहेको ताल अहिले सामाजिक सञ्जालमा पनि चर्चामा छ ।