गरुडा, ११ श्रावण/ रौतहटको गरुडा नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको मेयर कपलाई थप व्यवस्थित बनाउन पहल गरेको छ। नगरपालिकाको सहयोगमा आयोजना हुँदै आइरहेको मेयरकप क्रिकेट प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाउन गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले सक्रियता देखाउनुभएको छ। गरूडा नगरपालिकालाई खेलकुद नगरी बनाउने प्रतिबद्ध रहनुभएका नगरप्रमुख जयसवालले मेयर कपलाई थप व्यवस्थित बनाउने उद्देश्यले आज मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालसँग उहाँकै कार्यकक्षमा भेटघाट गरी सो प्रस्ताव राख्नुभएको छ। उहाँले भेटको क्रममा मन्त्री जयसवाललाई गरुडा नगरपालिकामा आयोजना हुँदै आइरहेको मेयर कपलाई मधेस प्रदेश स्तरीय बनाउन प्रदेश सरकारले गरुडा नगरपालिकासँग सहकार्य गर्न प्रस्ताव पेश गर्नुभएको थियो। आफ्नो प्रस्तावमा मन्त्री जयस्वालले सकारात्मक प्रतिक्रिया दिँदै सहयोगको प्रतिबद्धता गर्नुभएको नगरप्रमुख जयसवालले बताउनुभयो।
सो भेटघाटमा नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप खेलकुद सामाग्री लगायत नगरभित्र अध्ऊयन गरी खेलमैदान बनाईने बिषयमा समेत छलफल भएको नगरप्रमुख जयसवालले जानकारी दिनुभयो।