चन्द्रपुर , १७ कार्तिक / पछिल्लो समय आधुनिकताको नाममा देउसी भैलोको मौलिकता लोप हुँदै गइरहेकाले यसको संरक्षण हेतु आज चन्द्रनिगाहपुरमा सडकमे देउसीभैलो खेलिएको छ । मौलिक देउसीभैलोको परम्परा जोगाउन चन्द्रनिगाहपुर नागरिक समाजले देउसी कार्यक्रमको आयोजना गरेको छ । मौलिक बाजामा, मौलिक भाकामा भट्याउँदै ठूलो संख्यामा उपस्थित स्थानीयहरूले चन्द्रनिगाहपुर चोक परिक्रमा गर्दै सडकमै देउसी खेलेका थिए । सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, मधेस प्रदेशका पूर्वमन्त्री युवराज भट्टराई ‘समिर ’, चन्द्रपुर ४ का वडाध्यक्ष रवि राना मगर, चन्द्रपुर ५ का वडा अध्यक्ष निलहरी कोइराला , चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसी चन्द्रपुर ८ का वडाध्यक्ष जितेन्द्र चौधरी , चन्द्रपुर ९ का वडाध्यक्ष नवराज देवकोटा स्थानीय नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो । आधुनिकताको नाममा नयाँ पुस्ताले मौलिक देउसी भैलो बिर्सदै गइरहेकाले यसको संरक्षणको लागि यो कार्यक्रमको आयोजना गरिएको नागरिक समाजका अध्यक्ष महारत्न विष्टले जानकारी दिनुभयो । विगत १० वर्षदेखि आयोजना गरिँदै आएको सडक कार्यक्रममा सबै जात जात ,धर्म , भाषा र वर्गका मानिसहरूको उल्लासपूर्ण सहभागिता रहँदै आएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले राज्यले हाम्रा मौलिक परम्परा कला संस्कृतिको संरक्षणको लागि देशैभर जागरण अभियान चलाउनुपर्नेमा जोड दिँदै नागरिक स्तरबाट स्वत स्फुर्त रुपमा गरिने यस्ता सांस्कृतिक संरक्षणका कार्यक्रमहरुले निकै प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । मधेस प्रदेशका पूर्व उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई ‘समिर ’ ले नयाँ पुस्तालाई पुराना मौलिक परम्परा तथा संस्कृतिको बारेमा जानकारी दिन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राज्यका सबै तह र सरकारहरूले मौलिक धर्म ,संस्कृति, परम्परा, भाका तथा भेषभुषालाई जगेर्ना गर्न योजनाबद्ध कार्यक्रमहरू अघि सार्नुपर्नेमा जोड दिनुभयो । सो सडक देउसी कार्यक्रममा ढाकाटोपी र गम्छामा सजिएका स्थानीयहरूले मौलिक ठेट देउसी भाकामा देउसीरे भट्ट्याउँदै चन्द्रनिगाहपुर स्थित पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर – गौर सडक खण्डका विभिन्न स्थानहरुमा परिक्रमा गरेको नागरिक समाजका सदस्य विमल भट्टराइले बताउनुभयो । पछिल्लो पुस्ताका सबै युवाले तिहारमा देउसी खेल्दा विदेशी गीत, नाच र संस्कृति भित्राउन लागेका कारण आफ्नो मौलिक लोकभाका, भेषभूषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्दै आइरहेको उहाँले बताउनुभयो । हिजोआजका देउसेहरुले मौलिक देउसे भाकाको सट्टा ठुलाठुला साउन्डवक्सहरुमा हिन्दी र नेपाली चलचित्र, पप, र्याप गीतमा रमाउँदै देउसी खेल्ने गरेकाले संस्कृतिको नाममा हुने यस्ता विकृतिहरुलाई समाज सबै मिलेर हटाउनुपर्ने स्थानियको भनाइ छ ।