रौतहट, २४ बैशाख / रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले भर्ना अभियानलाई तिब्रता दिएको छ । विद्यालयका शिक्षक, विद्यार्थी , व्यवस्थापन समिति सहितको टोलीले समुदायमा गएर विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने गरेको विद्यालयका प्रधानाध्यापनक आर्यन झाले जानकारी दिनुभयो । विद्यलायले घरदैलो कार्यक्रम सञ्चालन गर्दै विद्यालय उमेरका बालबालिकालाई पहिचान गरेर उनीहरुलाई विद्यालयमा भर्ना गर्ने वातावरण सृजना गरेको उहाँले बताउनुभयो ।

‘अभिभावकहरूसँग प्रत्यक्ष संवाद गरी विद्यालयको निःशुल्क सेवा र गुणस्तरीय शिक्षाबारे जानकारी दिएका छौं’ प्रधानाध्यापक झाले भन्नुभयो, ‘यो भर्ना अभियानले समुदायमा सकारात्मक सन्देश फैलाएको छ । यो अभियानलाई हामी जारी राख्छौं ।’

कुनै समयमा विद्यार्थीको अभावमा मर्ज हुने अवस्थामा पुगेको सो विद्यालयको नेतृत्वमा प्रधानाध्यापक झा पुग्नुभएपछि विद्यालयको अवस्थामा परिवर्तन आएको र विद्यार्थी संख्यापनि निरन्तर बढिरहेको स्थानिय अभिभावकहरु बताउँछन् । सो विद्यालयमा अहिले निजी विद्यालयबाट निकालेर अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई भर्ना गरिरहेको र शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धी पनि निरन्तर बढ्दै गइरहेको विद्यालयको भनाइ छ ।