भदौं १७ गते ।
रौतहट जिल्लाको गौरमा १९ वर्षअघि भएको जघन्य हत्याकाण्डको अनुसन्धान प्रहरीले तीव्र पारेको छ । विक्रम संवत् २०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादीबिच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको उक्त घटनाका आरोपित १ सय ३० जनामाथि प्रहरीले खोजतलास सुरु गरेको हो ।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चर्तुवेदीले अनुसन्धान प्रक्रिया सुरु भइसकेको जानकारी दिए । “हामीले आरोपित १ सय ३० जनाको तीनपुस्ते विवरण सङ्कलन गरिरहेका छौँ । प्रारम्भिक अनुसन्धानमा ११ जनाको मृत्यु भइसकेको सूचना प्राप्त भएको छ, तर हामी मृत्यु दर्ता प्रमाणपत्र र उनीहरूको भूमिकाबारे थप खोजतलास गरिरहेका छौँ,” उनले भने । सर्वोच्च अदालतले भदौ २ गते गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश जारी गरेसँगै प्रहरीले प्रक्रिया अगाडि बढाएको हो ।
पीडितका तर्फबाट चार जनाले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमा जिल्ला प्रहरी कार्यालय गौरमा दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढाउन माग गरिएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त मागअनुसार आदेश दिएको हो । पीडितहरूले २०६८ चैत २८ मा जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दर्ता गराएका थिए, तर प्रहरीले अनुसन्धान र कारबाही प्रक्रिया अघि नबढाएको भन्दै उनीहरूले सर्वोच्चमा संवैधानिक उपचारको माग गरेका थिए ।
गौर हत्याकाण्डमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनाविरुद्ध किटानी जाहेरी परेको थियो । यता, जसपाले सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गर्दै आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएको छ । उसले मधेससहित देशका विभिन्न स्थानमा विरोधका कार्यक्रमहरू समेत आयोजना गरेको छ ।
घटना १९ वर्षअघि गौरको राइस मिलमा भएको थियो । त्यहाँ तत्कालीन मधेसी जनअधिकार फोरम (हालको जसपा नेपाल) र नेकपा माओवादीले एकै समय र स्थानमा आमसभा आयोजना गर्ने विषयमा विवाद हुँदा हिंसात्मक झडप भएको थियो । झडपमा ५ महिलासहित २७ जनाको निर्मम हत्या भएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए ।