भदौं १७ गते ।
रौतहटको विभिन्न बजार क्षेत्रमा अहिले भारतबाट चोरी छुपाई ल्याइएका भारतिय कोल्ड डिूङ्क्सको वर्चश्व बढ्दै गएको छ । नेपाली बजारमा आधिकारिक रुपमा दर्ता भएका तथा भ्याट तिरेर बिक्री वितरण भइरहेका नेपाली कोल्ड डिूङ्क्स कम्पनीका उत्पादनहरू संकटमा पर्न थालेका छन् । खुला सिमाना र प्रहरी प्रशासनकै कमजोरीका कारण प्रतिबन्धित भारतीय ब्रान्डका कोल्ड डिूङ्क्स खुलेआम बिक्री हुन थालेपछि व्यवसायीहरू आक्रोशित बनेका छन् ।
नेपाल सरकारले ब्यान्ड सूचीमा राखेका स्टिङ, डिउ, पेप्सी, स्प्राईट लगायतका पेय पदार्थहरू खुलेआम पसलमा सजिलै पाइने गरेका छन् । गरुडा नगरपालिका–४ का थोक व्यापारी संजय यादवका अनुसार “हामीजस्ता व्यापारीले नेपाली कम्पनीका कोल्ड डिूंक ल्याएर भ्याट र कर तिरेर बिक्री गर्नुपर्ने अवस्था छ तर सोही ब्रान्डका भारतीय उत्पादनहरू तस्करीमार्फत ल्याएर सस्तोमा बजारमा बेच्ने प्रवृत्तिले हाम्रो व्यापारमा दिनानुदिन घाटा थपिरहेको छ,“ भनेर गुनासो पोखे ।
यादवका अनुसार, नेपाली व्यापारीहरूले स्टिङ, डिउ, पेप्सी, स्प्राइट लगायतका उत्पादन बिक्री गर्दा कानुनी प्रक्रिया अनुसार कर तथा भ्याट तिर्नुपर्ने बाध्यता छ । तर, सोही ब्रान्डका भारतिय कोल्ड डिूङ्क्स सीमापारि सस्तो मूल्यमा भित्र्याइने र प्रहरी प्रशासनको मिलेमतोमा बजारसम्म पुग्ने भएकाले स्थानीय व्यापारीहरू ठूलो घाटामा पर्ने अवस्था आएको छ । यादवले भने, “हामी कानुनी बाटो समाएर कारोबार गर्दा घाटामा छौँ, तर प्रहरीकै मिलेमतोमा प्रतिबन्धित सामान धडल्ल बिक्री भइरहेको छ ।”
यादवका भनाइ अनुसार गौर(बैरगनिया नाकामा कडाइ भएको दाबी गरिए पनि वास्तविकतामा सयौँको संख्यामा तस्करहरूले प्रहरीकै मिलोमतोमा ठूलो मात्रामा भारतिय कोल्ड डिूंक नेपाल भित्र्याइरहेका छन् । “प्रहरीले लाखौँ रुपैयाँ घुस खाएर ब्यान्ड आइटम सजिलै छिराउन सहयोग गर्छ तर सामान्य मानिसले पर्वमा घरमा खाने भनेर एक(दुई बोतल ल्याउँदा भने खोस्छ र ठूलो बहादुरी देखाउँछ,“ यादवले आक्रोश व्यक्त गरे ।
स्थानीय व्यापारीहरूको भनाइमा भारतीय उत्पादनले बजारमा सहज पहुँच पाएकाले नेपाली उत्पादनप्रति ग्राहकको आकर्षण घट्दै गएको छ । जसका कारण नेपाली उद्योग र स्थानीय ठूला व्यापारीहरू निरन्तर घाटामा पुगेका छन् ।
उद्योग व्यवसायीहरूले भारतिय ब्यान्ड वस्तु नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा नेपाली उत्पादन बजारबाट हराउने खतरा रहेको चेतावनी दिएका छन् । तर प्रहरी प्रशासन भने यसबारे मौन देखिएको छ ।
यसैबीच उपभोक्ताहरूले पनि सस्तो भएकै कारण भारतीय कोल्ड डिूंक रोज्ने गरेको पाइन्छ । तर स्वास्थ्य र कानूनी दुवै दृष्टिले प्रतिबन्धित वस्तुको प्रयोगले दीर्घकालीन असर पार्ने भन्दै सचेत रहने सुझाव समेत दिइएको छ ।
त्यति मात्र नभएर स्थानीय तहका व्यापारी संघहरूले समेत सम्बन्धित निकायलाई बारम्बार जानकारी दिए पनि कानुनी कारबाही कडाइका साथ कार्यान्वयन नगरेसम्म समस्या समाधान नहुने चेतावनी दिएका छन् । यस विषयमा स्थानीय उपभोक्ताहरूले पनि चिन्ता व्यक्त गर्दै नेपालमै उत्पादन हुने गुणस्तरीय कोल्ड डिूङ्क्सलाई संरक्षण र प्रोत्साहन गर्न माग गरेका छन् ।