चन्द्रपुरमा अवस्थित विद्यालयहरूका सम्पूर्ण शिक्षकहरूलाई एकत्रित गर्ने, पूर्णतः गैर–राजनीतिक साझा मञ्च “बौद्धिक शिक्षक समूह” गठन गरिएको छ।यस समूहको मूल उद्देश्य शिक्षकहरूको व्यावसायिक विकास, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार, र शिक्षामा सकारात्मक परिवर्तन ल्याउने साझा प्रयत्न गर्नु हो। हामी सबै शिक्षकहरूको साझा चिन्ता र लक्ष्य शिक्षा नै हो। त्यसैले यो समूह कुनै पनि राजनीतिक उद्देश्य वा संगठनको विरोधका लागि होइन, बरु शिक्षाको उन्नति र शिक्षकबीचको एकता सुदृढ गर्नका लागि गठन गरिएको हो।
कसैलाई पनि यसबाट आहत वा असुरक्षित महसुस गर्नु नपरोस् भन्ने हाम्रो हार्दिक अनुरोध छ।
विशेष गरी हाम्रा वरिष्ठ तथा अग्रज शिक्षकज्यूहरू, हामी तपाईंहरूको अनुभव, मार्गदर्शन र नेतृत्वकै साथ अघि बढ्न चाहन्छौं। हामी तपाईंहरूका अनुयायी हौं, विरोधी होइन। हाम्रो लक्ष्य भनेको चन्द्रपुरको शैक्षिक उत्थान र दीर्घकालीन शैक्षिक योजनाको परिकल्पना गर्नु हो।
हामी स्पष्ट पार्न चाहन्छौं —
यो मञ्च विद्यालय समय पश्चात् शिक्षकबीच विचार–विनिमय र पेशागत सुधारका लागि मात्र समर्पित हुनेछ। कसैले विभाजन वा गलत बुझाइ महसुस गर्नुभएको छ भने, कृपया प्रत्यक्ष रूपमा हामीसँग संवाद गर्न अनुरोध गर्दछौं।
यसै अवसरमा, हामी सम्बन्धित निकायसमक्ष माग गर्दछौं —
१.स्वयंसेवक शिक्षकहरूको ९ महिनादेखि रोकिएको तलब,
२.बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरूको ६ महिनादेखिको तलब–भत्ता अबिलम्ब निकासा गरियोस्।
हामी सबैको साझा नारा —
“एकता नै बल हो, शिक्षा हाम्रो गौरव हो।”
जय शिक्षा ! जय चन्द्रपुर !!
( लेखक बौद्धिक शिक्षक समूह चन्द्रपुरका संयोजक हुनुहुन्छ।)