कार्तिक १७ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी उपरीक्षक (एसपी) रविन कार्की हाजिर भएको मात्र १५ दिनको अन्तरालमै जिल्लामा अपराध नियन्त्रण र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको छ। गत महिनादेखि बढ्दै गएको चोरी, जुवातास, अवैध मदिरा, लागुऔषध र सीमावर्ती तस्करीमा प्रहरीले कडाइ गरेपछि जिल्लामा सुरक्षाको माहोल पुनः सुदृढ हुन थालेको जनाइएको छ।
एसपी कार्कीले हाजिर भएको पहिलो दिनदेखि नै “शून्य सहनशीलता” (Zero Tolerance) नीति अवलम्बन गर्दै, प्रहरी कर्मचारीहरूलाई कर्तव्यप्रति जिम्मेवार र जनताको सुरक्षा प्रति संवेदनशील रहन निर्देशन दिएका थिए। त्यसको परिणामस्वरूप छोटो समयमा नै विभिन्न स्थानबाट अवैध सामान बरामद, तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ, तथा विगतमा चलिरहेको आपराधिक गतिविधिमा कमी आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्ला दुई सातामा मात्रै लागुऔषध सम्बन्धी , अवैध मदिरा कारखाना नष्ट, सीमाबाट ल्याइएका विभिन्न तस्करीका सामान जफत र फरार अभियुक्त पक्राउ भएका छन्। साथै, जिल्ला भित्रका बजार क्षेत्रमा शान्ति सुरक्षाका लागि नियमित गस्ती बढाइएको र राति अपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ।
एसपी कार्कीले पत्रकारहरूसँग कुरा गर्दै भने, “रौतहटको शान्ति सुरक्षालाई सुदृढ बनाउनु हाम्रो पहिलो प्राथमिकता हो। अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिइँदैन। जनताको साथ र भरोसा बिना सुरक्षा सम्भव हुँदैन, त्यसैले हामी जनतामै आधारित प्रहरी सेवा विस्तार गर्दैछौं।”
स्थानीयवासीहरूले पनि प्रहरीको सक्रियता र तत्परता देखेर सन्तोष व्यक्त गरेका छन्। चन्द्रपुर, गौर, गरुडा, इशनाथ, फतुवा विजयपुर लगायतका क्षेत्रका बासिन्दाहरूले विगतमा भएका चोरी र तस्करीका घटनामा कमी आएको बताए।
१५ दिनको छोटो अवधिमै देखिएको यो परिवर्तनले रौतहटको प्रहरी नेतृत्वमा नयाँ ऊर्जा र प्रतिबद्धता आएको संकेत गरेको छ। स्थानीय सरोकारवालाहरूका अनुसार, यदि यही ढंगमा प्रहरी काममा निरन्तरता रह्यो भने रौतहट निकट भविष्यमा अपराधमुक्त जिल्लाको उदाहरण बन्न सक्छ।