जनकपुरधाम,१८ कार्तिक //
जनकपुरधाममा धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ। संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएको हो।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दमन र कुटपिटको विरोधमा जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरूले दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन्।
जनकपुरधामका व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म आ-आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी विरोध जनाएका छन्।
त्यस्तै, जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा नगरमा व्यापारीहरूले विरोध र्याली समेत निकालेका थिए। यसअघि संघको आह्वानमा व्यापारीहरूले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर र कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी तीन दिनसम्म विरोध जनाएका थिए।
धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा सुनचाँदी बजारमा छापा मारेको थियो। छापा मार्ने क्रममा एक पसलबाट प्रहरीले सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए।
व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाउँदै प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा प्रहरीको कुटाइबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए।