पुष्पराज महतरा
उप–प्राध्यापक
जनज्योति बहुमुखी क्याम्पस
रौतहट, २२ मङ्सिर//
कुनै पनि क्षेत्रमा देखापर्ने वाञ्छनिय परिवर्तन विकास हो, भने ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, वातावरणीय लगायत समग्र दैनिक जीविकोपार्जनमा सकरात्मक परिवर्तनको प्रक्रिया ग्रामीण विकास हो । नेपालमा ७५३ स्थानीय तहमध्ये ४६० गाउँपालिका रहेका छन् । साथै, ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिका रहेता पनि यसका अधिकांश क्षेत्र ग्रामीण भूभाग नै रहेकाले पनि करिव ६५ प्रतिशत मानिसहरु ग्रामीण क्षेत्रमा नै बसोबास गर्दछन् । यस्तो संरचनाले ग्रामीण विकासलाई नेपालको समग्र सामाजिक–आर्थिक उन्नतिको केन्द्रीय कार्यक्षेत्र बनाएको छ । ग्रामीण विकास भनेको केवल आर्थिक वृद्धिमात्र नभई, शिक्षामा समान पँहुच, स्वास्थ्य सेवा, आधुनिकीकरण, पूर्वाधार विस्तार, स्थानीय शासनको सुदृढिकरण, सामाजिक समावेशीकरण र जीवनस्तर उकास्ने व्यापक प्रक्रिया हो । ग्रामीण विकासले मात्र दिगो रोजगारी, खाद्य सुरक्षा, सामाजिक न्याय र आर्थिक समावेशीता प्राप्त गर्न सकिन्छ । ग्रामीण विकास बहुआयामिक अवधारणा हो, जसमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, स्थानीय शासन, वातावरणीय व्यवस्थापन र मानव सशक्तीकरणका विभिन्न आयामहरु समेटिन्छन् । ग्रामीण विकासले समग्र राष्ट्रिय उन्नती र आर्थिक स्थायित्व सुनिश्चित गर्दै ग्रामीण बासिन्दालाई उपयुक्त अवसर र स्रोतसाधन उपलब्ध गराएर उनीहरुको हैसियत र जीविकोपार्जनलाई सहज बनाउने लक्ष्य राखेको हुन्छ । यो खास समुदायका मानिस, गरिब महिला तथा पुरुषहरुको आवश्यकता पूरा गर्न सक्ने क्षमता बढाउने रणनीति हो । यसले ग्रामीण जनजीविकाको सवालमा ध्यान दिन्छ । यसमा ग्रामीण विकासको फाइदा तथा नियन्त्रणमा सहभागी हुने साना किसान, जोताहा, भूमिहिन र पिछाडि पारिएका वर्गको जीवनस्तरमा सुधार ल्याउने दृष्टिकोणको चर्चा गरिन्छ ।
ग्रामीण विकास राष्ट्र समृद्धिको आधारस्तम्भ हो । तर ग्रामीण आवश्यकता र प्राथमिकतालाई वेवास्ता गरी पूर्वाधार निर्माण, खण्डीय विकास अभ्यास, अस्थिर राजनीतिक अवस्था, विकास निर्माणमा कम जनसहभागिता, राजनीति लाजनीतिमा परिणत, भौगोलिक जटिलता, प्राकृतिक सम्पदा (जल, जमिन, जङ्गल र जडिबुट्टी) को अत्याधिक दोहन, विकासको नाममा जताततै बाटोघाटो निर्माण गर्न प्रयोग गरिएका डोजर तथा बम ब्लाष्ट जस्ता समस्याले गर्दा नेपालको ग्रामीण विकासमा भएको प्रयासले अझै सन्तोषजनक सास फेर्न सकिरहेको अवस्था छैन् ।
समग्र राष्ट्रले विकासमा अपेक्षित परिवर्तन गर्न नसके जस्तै ग्रामीण विकासको सन्दर्भमा पनि चुनौतिका चाङ्गहरु चुलिएका देखिन्छन् । त्यस्ता चुनौतिका चाङ्गहरुलाई चिरेर अगाडि बढ्न सकेको खण्डमा मात्र ग्रामीण विकास प्रक्रिया अघि बढ्न सक्दछ । वर्तमान परिप्रेच्छमा ग्रामीण विकासमा देखा परेका चुनौतिहरुलाई यहाँ उल्लेख गरिएको छ ।
ग्रामीण विकासका चुनौतीहरुः
कृषि चुनौतीहरूः कृषि नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो भने ग्रामीण नेपाली किसानहरुको मुख्य पेशा पनि कृषि हो । यद्यपि, परम्परागत खेती गर्ने अभ्यास, आधुनिक प्रविधिमा सीमित पहुँच, अतिवृष्ट, अनावृष्टि, अनियमित वर्षा र खडेरी जस्ता जलवायु परिवर्तनका प्रभावले कृषि उत्पादनमा महत्वपूर्ण चुनौतीहरु खडा भइरहेकोे छ । जसमा जमिनको खण्डीकरण, सिँचाइ सुविधाको अभाव, प्राविधिक ज्ञानको कमी, सुधारिएको बीउविजन र रसायनिक मलको अभाव, ऋण र बजारमा सीमित पहुँचले कृषि क्षेत्रको वृद्धिलाई थप बाधक बनाउँछ । साथै, बजार संरचना कमजोर र मूल्य अस्थिरताका कारण ग्रामीण कृषि व्यवसायीकरण हुन सकेको छैन् । जसले गर्दा ग्रामीण विकासमा चुनौती थपिएको छ ।
गुणस्तरीय शिक्षामा सीमित पहुँच र कमजोर स्वास्थ्यः शिक्षा र स्वास्थ्य विकासका मेरुदण्ड हुन् । तर पनि ग्रामीण नेपाल गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि संघर्षरत छ । यसमा पनि धेरै गाउँमा अपर्याप्त विद्यालय, प्रशिक्षित शिक्षकको अभाव र अपर्याप्त सिकाइ सामग्री, अस्पताल, औषधि र आधारभूत चिकित्सा आपूर्तिको अभाव रहेको छ , जसले गर्दा धेरै ग्रामीण समुदाय परम्परागत औषधि उपचार विधि र धामीझाक्रीमा निर्भर भएका छन । विशेषगरी महिला तथा बालबालिका प्रसवपूर्व र प्रसवपश्चातको अप्रर्याप्त हेरचाहको कारण उच्च मातृ तथा शिशु मृत्युदरबाट पीडित छन् । यसै कारण ग्रामीण क्षेत्रमा ब्रेन ड्रेनको समस्या छ ।
संरचनात्मक गरिबी र विषमताः ग्रामीण विकासको सबैभन्दा ठूलो चुनौती दीर्घकालिन संरचनात्मक गरिबी हो । आज खाइयो भोली के खाने भन्ने समस्याले आम ग्रामीणबासी ग्रसित छन । गरिबीका कारण कम आम्दानी, कम उपभोग स्तर, अस्वस्थ जीवन, कमजोर कार्यक्षमता छ । जसले गर्दा फेरी ग्रामीण क्षेत्रमा धनि र गरिवको ठूलो खाडल विद्यमान छ ।
पूर्वाधारको अपुरो विकासः नेपाली ग्रामीण क्षेत्रको विकासका लागि चाहिने आवश्यक पूर्वाधार अझै अपुरो अवस्थामा छ । सहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड्ने गुणस्तरीय सडक नेटवर्कको विकास हुन सकेको छैन् । यातायात सेवा नियमित नहुँदा ग्रामीण क्षेत्रमा उत्पादित अन्न, फलपूmल तथा तरकारी सहरी क्षेत्रसम्म पुग्न सकेका छैनन् । स्वास्थ्य। शिक्षा, स्वच्छ खानेपानी तथा सरसफाइ चुनौतिपूर्ण अवस्थामा छ । इन्टरनेट तथा डिजिटल पहँुच सीमित हुनाले ग्रामीण उद्योग तथा व्यवसाय फष्टाउन सकेका छैनन् ।
युवा बेरोजगारी र विदेश पलायनः ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सीमित हुनाले यूवाजनशक्ति शहर तर्फ उन्मुख हुदै विदेश पलायन हुने क्रम बढ्दै गएको छ । गाउँका धेरै युवा रोजगारका लागि विदेश जान बाध्य छन् । उद्यमी युवाशक्तिको पलायनसँगै खेती गर्ने श्रमशक्ति घट्दैछ, स्थानीय उत्पादनमा गिरावट आएको छ, विकास निर्माणमा यूवा जनशक्तिको अभाव छ, पाखाबारी र खोरियाहरु बन्जर बनिरहेका छन् । वृद्ध, महिला तथा बालबालिका गाउँका बोझ हुन थालेका छन् । नाजायज सम्बन्ध स्थापित गर्ने, बच्चा जन्माउने, पारपाचुकी र दोस्रो विवाह गर्ने विकृति बढेकाले परिवारिक र सामाजिक विखण्डन बढेर गएको छ ।
राम्रा योजना तर फितलो कार्यान्वयनः कतिपय संघिय, प्रादेशिक र स्थानीय स्तरले बनाउने योजनाहरु कागजमा राम्रो बन्ने तर त्यस्ता योजना कि त दराजमै थन्किने वा टेवलमै सजिएर बस्ने समस्याका कारण ग्रामीण विकासमा त्यसको प्रभाव न्यून देखिन्छ । साथै, कहिले राजनीतिक प्रभाव, कहिले असारे बजेट, कहिले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव, कहिले अध्ययन अनुसन्धान विनाका योजना त कहिले आवश्यक तथा प्राविधिक जनशक्तिको अभावका कारण ग्रामीण विकास कछुवा गतिमा अघि बढिरहेको अवस्था विद्यमान छ ।
राजनीतिक अस्थिरता र सुशासनका मुद्दाहरूः नेपालले दशकौंदेखि राजनीतिक अस्थिरताको अनुभव गरेको छ । जसले ग्रामीण विकासका परियोजनाहरूलाई असर गरिरहेको छ । यसरी सरकारमा बारम्बार परिवर्तन, भ्रष्टाचार कर्मचारीतन्त्र प्रक्रियाहरूले दीर्घकालीन नीति कार्यान्वयनमा बाधा पु¥याउँछ । जसले गर्दा धेरैजसो ग्रामीण विकास आयोजना अव्यवस्थित, ढिलाइ र पारदर्शिताको अभावबाट ग्रस्त रहेको छ ।
आधुनिक सुविधा र प्रविधिको कमीः नेपालका धेरै गाउँमा अझै पनि राम्रो सडक सुविधा, गुणस्तरीय स्वास्थ्य सेवा पर्याप्त हुन सकेको छैन । धेरै ग्रामीण समुदायमा इन्टरनेट, मोबाइल नेटवर्क, शिक्षा र आर्थिक अवसर बढाउन सक्ने आधुनिक प्रविधिमा पहुँच छैन । सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुनु, इन्टरनेट वा डिजिटल सेवाको सीमितता आदिले गर्दा ग्रामीण जीवनलाई सहरसँग प्रतिस्पर्धा गर्न कठिन बनाएको छ । फलस्वरुप ग्रामीण क्षेत्रको विकासमा थप समस्या थपिएको छ ।
जलवायु परिवर्तन र प्राकृतिक विपदः नेपाल जलवायु परिवर्तनको जोखिममा छ । बारम्बार पहिरो, बाढी र खडेरीले ग्रामीण समुदायलाई असर गरिरहेको छ । यसमा पनि खासगरीकन भन्ने नै हो भने वन फँडानी, माटोको कटान र पानीको अभावले कृषि र जीविकोपार्जनलाई थप खतरामा पार्छ । अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षा, असिना आदिले ग्रामीण जनजीवनलाई वर्षैभरि सताउँछ । निर्मित सडक–पुल बग्ने, खेती नष्ट हुने, मानिस विस्थापित हुने, यी सबै ग्रामीण क्षेत्रका यथार्थ चित्रण हुन्, जसले विकासमा अवरोध खडा गरिरहेको छ ।
सामाजिक संरचनाः नेपालका अधिकांश ग्रामीण क्षेत्रमा जातीय, लैङ्गिक र वर्गिय विभेद व्याप्त छ । महिला, दलित तथा अन्य पछाडि पारिएका समुदायको समुचित विकास हुन सकेको छैन । विकास निर्माण देखि उपलब्ध स्रोत साधनको न्यायोचित र समानुपातिक वितरण हुन नसक्दा ग्रामीण समाजमा सामाजिक न्याय हुन सकेको छैन । सीमान्तकृत समुदायले अक्सर शिक्षा, रोजगारी र राजनीतिक सहभागितामा भेदभावको सामना गर्छन् भने महिला विशेषगरी भूमिको स्वामित्व, आर्थिक स्वतन्त्रता र निर्णय लिने अधिकारमा अवरोध सामना गर्छन् । जातीय भेदभाव, लैंगिक असमानता, अन्धविश्वास र रुढीबादी परम्परा जस्ता सामाजिक र सांस्कृतिक मान्यताले प्रायः ग्रामीण विकास प्रयासलाई बाधा पु¥याउँछन् ।
भौगोलिक अवस्था र छरिएको बस्तीः नेपालले ग्रामीण विकासमा सामना गरिरहेको सबैभन्दा महत्वपूर्ण चुनौती भनेको यसको कठिन भौगोलिक बनाबट हो । हिमाली र पहाडी परिदृश्यले सडक निर्माण, यातायात, प्रविधि र सञ्चार पूर्वाधारलाई चुनौतीपूर्ण र महँगो बनाउँछ, जसले गर्दा धेरै ग्रामीण क्षेत्र सहरी क्षेत्रबाट पृथक् छन । जसको कारण स्वास्थ्य सेवा, शिक्षा र बजारजस्ता आवश्यक सेवाहरूमा ग्रामीण जनताको पहुँच सीमित छ । जसले गर्दा छरिएर रहेको बस्तीलाई समग्र विकासको दायरामा ल्याउन असंभव जस्तै बनाएको छ ।।
ग्रामीण विकासका अवसरहरुः
कृषिमा आधुनिकीकरण तथा प्रवद्र्धनः कृषिमा यान्त्रीकरण, सुधारिएको सिँचाइ प्राणाली र अर्गानिक खेतीका अभ्यासहरू मार्फत कृषिको आधुनिकीकरणले उत्पादकत्व बढाउन सकिन्छ । कृषकहरूलाई तालिम, आर्थिक सहयोग र बजारमा पहुँच प्रदान गर्दा ग्रामीण अर्थतन्त्र फस्टाएर जान्छ । कृषि पर्र्यटन र उच्च मूल्यका कृषि उत्पादनहरूले ग्रामीण समुदायका लागि थप राजस्व प्रवाह प्रदान गर्छ । जैविक कृषि, दुग्धपालन, माछापालन, मौरीपालन जस्ता बहुउपयागी व्यवसायका साथै एग्रो — प्रोसेसिङ्ग उद्योगले कृषि विविधीकरणका लागि अपार सम्भावना प्रदान गर्छ ।
शिक्षा र सीप विकास सुदृढीकरणः विद्यालयको पूर्वाधार सुधार, शिक्षक तालिम र छात्रवृत्ति उपलब्ध गराएर ग्रामीण शिक्षामा लगानी गर्नाले सहरी–ग्रामीण शिक्षाको खाडल घटाउन सकिन्छ । स्थानीय आवश्यकता अनुरूप व्यावसायिक तालिम, प्राविधिक शिक्षा र सीप विकास कार्यक्रमले रोजगारीका अवसरहरू सृजना गर्न, बसाइँसराइ कम गर्न र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।
ग्रामीण स्वास्थ्य सेवाः ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी, अस्पताल, दक्ष चिकित्सक र गुणस्तरीय औषधिको पँहुच पु¥याउँन सकेमा ग्रामीण स्वास्थ्य अवस्था राम्रो बनाउन सकिन्छ । साथै, ग्रामीण स्वास्थ्य सेवा विस्तार गर्न मोबाइल चिकित्सा र टेलिमेडिसिनको सुविधा प्रदान गर्न सके ग्रामीणबासीले त्यसबाट लाभ उठाउन सक्छन् । स्थानीय स्वास्थ्यकर्मीहरूलाई तालिम दिनु र अत्यावश्यक औषधिहरूको उपलब्धता सुनिश्चित गर्नाले ग्रामीण स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ र विकासका ढोकाहरु खुल्दै जान्छन् ।
ग्रामीण उद्यमशीलता र पर्यटन प्रवद्र्धनः नेपालको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले ग्रामीण पर्यटनका लागि प्रशस्त अवसर प्रदान गर्छ । इको टुरिजम, साहसिक टुरिजम, बञ्जी जम्पिङ्ग, ¥याफ्टिङ्ग, होमस्टे र सामुदायिक पर्यटनको विकासले रोजगारी सिर्जना गर्न र स्थानीय परम्पराको संरक्षण गर्न सकिन्छ । कृषि, हस्तकला र स्थानीय उद्योगहरूमा साना र मझौला उद्यमहरूलाई प्रोत्साहन गर्नाले ग्रामीण अर्थतन्त्रलाई बढावा दिन सकिन्छ । यूवा उद्यमशीलताको संस्कृतिलाई बढावा दिन यूवा उद्यमी अनुकूल नीतिगत वातावरण सिर्जना गर्नु आवश्यक छ ।
प्रविधि र डिजिटल पहँुचः प्रविधिले ग्रामीण विकासमा परिवर्तनकारी भूमिका खेल्न सक्छ । इन्टरनेट, मोबाइल प्रविधिको पहुँच विस्तारले ग्रामीण समुदायलाई सूचना, बजार र अवसरसँग जोड्न सक्छ । ग्रामीण क्षेत्रमा डिजिटल साक्षरता र सूचना प्रविधिको पहुँच विस्तारले ग्रामीण सहरी विकासको खाडललाई पूरा गर्न सक्छ । यसको साथसाथै ई–लर्निङ, ई–कमर्स र मोबाइल बैंकिङ सेवाहरूले ग्रामीण समुदायका लागि शिक्षा, आर्थिक सहभागिता र वित्तीय समावेशीकरण बढाउन सकिन्छ ।
सुशासन र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्नेः पारदर्शी नीति, सहभागितामूलक योजना र सामुदायिक संलग्नता मार्फत स्थानीय शासनलाई सुदृढ गर्नाले ग्रामीण विकासको नतिजामा सुधार ल्याउन सकिन्छ । स्थानीय सरकारहरूमा शक्ति र वित्तीय स्रोतको विकेन्द्रीकरणले जवाफदेहिता र प्रभावकारी परियोजना कार्यान्वयनलाई बढवा दिन्छ । सामुदायिक नेतृत्वको विकासले विकास प्रक्रियामा स्वामित्व, दिगोपन र समावेशिता बढेर जान्छ ।
नवीकरणीय ऊर्जा प्रवद्र्धन ः नेपालमा प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोत छन् । साना जलविद्युत परियोजना, सौर्य उर्जा तथा बायोग्यास परियोजनाले ग्रामीण क्षेत्रलाई स्वावलम्बी बनाउन सक्छन् । यसमा पनि विशेषगरी जलविद्युत्, विकेन्द्रीकृत नवीकरणीय ऊर्जा समाधानमा लगानी गर्नाले ग्रामीण क्षेत्रहरूमा ऊर्जाको कमीलाई सम्बोधन गर्न, कृषि, साना व्यवसायहरू र घरपरिवारलाई ऊर्जा प्रदान गर्न सक्छ । साथै, जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरणमा पनि योगदान पु¥याउँछ ।
रेमिट्यान्सः प्रवासी कामदारबाट आउने रेमिट्यान्स ग्रामीण क्षेत्रमा लगानीको महत्वपूर्ण स्रोत हुन सक्छ । वित्तीय साक्षरता प्रवद्र्धन र वित्तीय सेवाहरूमा पहुँच प्रदान गर्नाले आय आर्जन बढेर जान्छ । रेमिट्यान्सलाई जमिन र घर जोड्मा मात्र प्रयोग नगरी यूवा उद्यमशिलतामा जोड्न सके औद्योगिक विकास मार्फत ग्रामीण विकास गर्न सकिन्छ ।
पूर्वाधारमा दीर्घकालीन लगानीः ग्रामीण क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक पूर्वशर्त हो । सडक, यातायात, खानेपानी, स्वास्थ्य, शिक्षा र इन्टरनेट गाउँको विकासका आधारहरु हुन् । सहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड्ने गुणस्तरीय सडक नेटवर्कको विकास गर्न सकेको खण्डमा यातायात सेवा नियमित हुँदा ग्रामीण क्षेत्रमा उत्पादित अन्न, फलपूmल तथा तरकारी सहरी क्षेत्रसम्म पुग्न सक्छन् र ग्रामीण सहरी सम्बन्ध सुमधुर हुनुको साथै ग्रामीण आम्दानी बढेर जान्छ । यसर्थ, पूर्वाधारमा दीर्घकालिन लगानी गरी ग्रामीण विकासको अवसरका ढोका खोल्न सकिन्छ ।
सहकारी विकासः नेपालका गाउँमा “सँगै मिलेर गर्ने” संस्कार पुरानै हो । यही संस्कारलाई संस्थागत रूप दिने काम सहकारीहरूले गरेका छन । गाउँ–गाउँमा खोलिएका सहकारीहरु अहिले बचत तथा कर्जाको माध्यम, साना उद्यम सञ्चालनको आधार, खेती तथा पशुपालन व्यवसायको धरातल, महिलाहरुको आर्थिक तथा सामाजिक प्रतिष्ठामा वृद्धि गरी ग्रामीण जीवनका सारथी बनिरहेका छन् यसको सेवा सुविधालाई अझ विस्तार र परिस्कृत गरी लैजान सके ग्रामीण विकासमा शसक्त भूमिका खेल्न सक्छ ।
मूल्य शृंखला विकासः कृषि र गैर–कृषि उत्पादनको लागि बलियो मूल्य शृंखला विकास गर्नाले ग्रामीण उत्पादकका लागि बजार पहुँच बढाउनुको साथै आम्दानी बढाउन सकिन्छ । यसमा उत्पादक, प्रोसेसर, उपभोक्ता र बजार बीचको सम्बन्ध सुदृढ पार्नुका साथै मूल्य अभिवृद्धिलाई समर्थन गर्न पूर्वाधार र प्रविधिमा लगानी गर्नु आवश्यक छ ।
विकेन्द्रीकरण र स्थानीय शासनः स्थानीय शासनको सुदृढीकरण र स्थानीय निकायलाई सशक्त बनाउन सेवा प्रवाहमा सुधार र सहभागितामूलक विकासलाई प्रवद्र्धन गर्न सकिन्छ । यसमा स्थानीय सरकारलाई थप शक्ति र स्रोत हस्तान्तरण गर्नुका साथै विकास कार्यक्रमको योजना, कार्यान्वयन र अनुगमन गर्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक हुन्छ ।
मौलिक ज्ञानको प्रयोगमा बढवाः ग्रामीण समुदायमा बसोबास गर्ने वृद्ध तथा जेष्ठनागरिकसँग आफ्नै किसिमका मौलिक ज्ञान र सीपहरु हुन्छन् । त्यस्ता ज्ञान र सीपको पहिचान गर्दै त्यसलाई ब्राण्ड प्रदान गरी विकास प्रक्रियामा अवलम्बन गर्ने हो भने ग्रामीण विकास प्रक्रियालाई अघि बढाउन सकिन्छ ।
नेपालका गाउँहरू केवल भौगोलिक क्षेत्र मात्र होइनन्, देशका संस्कार, पहिचान र भविष्यको पहरेदार हुन् । गाउँमा अपार सम्भावना छ — जल, जमिन, जङ्गल, जडिवुट्टी, कृषि, पर्यटन, सहकारी, सामुदायिक वन, ऊर्जा, संस्कृति र मौलिक ज्ञान । तर सँगै चुनौतीहरू पनि त्यत्तिकै छन् — गरिबी, बेरोजगारी, पूर्वाधारको कमी, प्राकृतिक विपद् र कमजोर व्यवस्थापन । यदि अवसर र चुनौती दुवैलाई सही ढंगले सम्बोधन गर्न सकियो भने नेपालका गाउँहरू साँचैमा समृद्धिको केन्द्र बन्न सक्छन् । ग्रामीण विकास देशको भविष्य हो र त्यो भविष्य प्राप्तीका लागि हामी सबैले हरेक तह र तप्काबाट प्रयास गर्नु अति आवश्यक छ ।