रौतहट ,१५ माघ //
मधेसलाई सधैँ असन्तोष, पहिचान र विभाजनको चस्माबाट हेर्ने प्रवृत्तिको ठीक उल्टो धार बोकेर रौतहट क्षेत्र नं–४ मा एक नेता उभिएका छन्— देव प्रसाद तिमिल्सिना। उहाँका लागि मधेस कुनै भाषणको विषय होइन, संसदमा निरन्तर उठाइरहने जिम्मेवारी हो। यही कारणले उहाँको उम्मेदवारी यसपटक केवल चुनावी प्रतिस्पर्धा मात्र नभएर, मधेसको राजनीतिमा दिशा परिवर्तनको संकेत बनेको छ।
आजको राजनीति चर्को नाराभन्दा पनि विश्वास खोजिरहेको छ। गाली, प्रतिशोध र भावनात्मक उन्मादले होइन, संवाद, समन्वय र नीतिगत स्पष्टताले जनताको मन जित्ने समय हो। तिमिल्सिना यही राजनीतिक संस्कारका प्रतिनिधि हुन्। “हिमाल, पहाड र तराई— कोही छैन पराई” भन्ने सोच उहाँको नारामात्र होइन, अभ्यास हो। मधेसी समुदायको बाहुल्यता भएको क्षेत्रमा निर्वाचित भएर पनि उहाँले कहिल्यै क्षेत्रीय घेराभित्र राजनीति गर्नुभएन।
चन्द्रनिगाहपुरदेखि भुसाहासम्म फैलिएका जनजीवनका साझा समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा उहाँको पहिचान भाषणबाजीभन्दा बढी समाधान खोज्ने प्रतिनिधिको रूपमा रहँदै आएको छ। यही कारण पछिल्लो पुस्ता विशेषगरी Gen-Z युवा आज सदनमा आवाज पुर्याउन सक्ने, अधुरा एजेन्डालाई कार्यान्वयनमा लैजान सक्ने अनुभवी तर समावेशी नेतृत्व खोजिरहेका छन् र त्यो खोज तिमिल्सिनामा आएर ठोक्किन्छ।
यो निर्वाचन उहाँका लागि व्यक्तिगत महत्वाकांक्षाको निरन्तरता होइन। बरु यो जिम्मेवारीको अन्तिम चरण हो। आगामी निर्वाचनमा पुस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गर्ने सार्वजनिक संकल्पले उहाँलाई अरूभन्दा फरक बनाउँछ। सत्तामा टाँसिरहने होइन, राजनीतिक संस्कार हस्तान्तरण गर्ने यो सोच आजको राजनीतिमा दुर्लभ बन्दै गएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, तिमिल्सिनाको अभियान गाली र घृणाको भाषा होइन। विगतका कमजोरी स्वीकार गर्दै माफी माग्ने, सच्चिने र स्वच्छ चुनावमा होमिने उहाँको प्रतिबद्धताले राजनीतिलाई फेरि भरोसायोग्य बनाउन सकिने संकेत गर्छ। यही नै आजको राजनीतिले खोजिरहेको चरित्र हो।
रौतहट–४ मा देव प्रसाद तिमिल्सिनाको विजय केवल एक व्यक्तिको जित हुनेछैन। यो मधेसको मुद्दा संसदमा पुर्याउने निरन्तरताको जित हुनेछ, एकताको राजनीतिले विभाजनको राजनीतिलाई पराजित गरेको क्षण हुनेछ, र भावी नेतृत्व— गगन थापासहित— सुधारिएको नेपाली कांग्रेसतर्फ अघि बढ्ने आधार हुनेछ।
यसपटक मत केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन।
यो राजनीति कस्तो होस् भन्ने निर्णय गर्ने घडी हो।