रौतहट, २९ माघ/ रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत चन्द्रपुर नगरपालिका–२ बाट जेन–जी उमेर समूहका ७० भन्दा बढी युवाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। पछिल्लो समय युवापुस्तामा राजनीतिक चासो र सहभागिता बढ्दै गइरहेका बेला एकैपटक ठूलो संख्यामा युवाहरू एमालेमा आवद्ध हुनु स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
नवप्रवेशी युवाहरूलाई एक कार्यक्रमका बीच रौतहट क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार रामजी साह, पूर्व केन्द्रीय सदस्य उद्धव रेग्मी, रिटर्नी फेडरेसनका महासचिव खेम कार्की तथा एमालेका नेता टीका बहादुर कार्की लगायतले खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रामजी साहले देशको भविष्य युवाको काँधमा रहेको उल्लेख गर्दै युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक नेतृत्वतर्फ अघि बढ्न आग्रह गर्नुभयो। उहाँले एमाले सधैं युवामैत्री नीति र कार्यक्रममार्फत अगाडि बढेको दाबी गर्दै नयाँ पुस्ताको साथ र सहभागिताले पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।
पूर्व केन्द्रीय सदस्य उद्धव रेग्मीले विचार, सिद्धान्त र संगठनको बलियो आधार भएका कारण एमाले युवाहरूको आकर्षणको केन्द्र बनेको बताउनुभयो। उहाँले जेन–जी पुस्ता प्रविधिमैत्री, सचेत र परिवर्तनप्रेमी भएकाले उनीहरूको ऊर्जालाई सही दिशामा प्रयोग गर्न पार्टी प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
त्यस्तै, रिटर्नी फेडरेसनका महासचिव खेम कार्कीले विदेशबाट फर्किएका तथा स्थानीय स्तरमै संघर्ष गरिरहेका युवाहरूलाई एमालेले सधैं साथ दिएको उल्लेख गर्नुभयो। युवाहरूलाई सीप, रोजगार र स्वरोजगारसँग जोड्ने अभियानमा पार्टीले निरन्तर पहल गरिरहेको उहाँको भनाइ थियो।
नवप्रवेशी युवाहरूले पनि एमाले जनताको हितमा काम गर्ने र युवाहरूलाई अवसर तथा जिम्मेवारी दिने पार्टी भएकाले आफूहरू प्रवेश गरेको बताएका छन्। उनीहरूले स्थानीय विकास, सुशासन र पारदर्शिताका पक्षमा पार्टीले खेलेको भूमिकाबाट प्रभावित भएको धारणा राखेका छन्।
चन्द्रपुर–२ मा एकैपटक ठूलो संख्यामा युवाहरू एमालेमा प्रवेश गर्नुले आगामी दिनमा क्षेत्र नम्बर ४ को राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ। स्थानीय तहदेखि संघीय स्तरसम्म युवाको प्रतिनिधित्व बढाउनुपर्ने आवाज उठिरहेका बेला यस्तो सहभागिताले पार्टीभित्र नयाँ ऊर्जा थपिएको नेताहरूको विश्वास छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार जेन–जी पुस्ताको सक्रियता अबको राजनीतिमा निर्णायक बन्न सक्ने देखिन्छ। सामाजिक सञ्जाल, प्रविधि र नयाँ सोचसँग नजिक रहेको यो पुस्ता प्रत्यक्ष रूपमा संगठनमा आवद्ध हुनुले क्षेत्रीय राजनीतिमा नयाँ आयाम थपिएको छ।