रौतहट, २९ माघ
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को स्थानीय केन्द्र रौतहटको तेस्रो जिल्ला अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाभरका इन्जिनियरहरूको उल्लेख्य सहभागिता रहेको थियो भने संगठन सुदृढीकरण, पेशागत हकहित संरक्षण र आगामी निर्वाचनमा भूमिकाबारे गहन छलफल गरिएको थियो । सिडेन नेपाल नेपाली कांग्रेस को सुभेच्छुक संस्था हो ।

देशभरका इन्जिनियरहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता र पेशागत आचारसंहितामा आधारित संगठनमा आबद्ध गराउने उद्देश्यसहित स्थापना भएको सिडेनको संगठनात्मक संरचना हाल सातै प्रदेशमा विस्तार भइसकेको छ । कार्यक्रममा सिडेन नेपालका अध्यक्ष इन्जिनियर रवि भूषण झाले विभिन्न स्थानीय केन्द्रहरू पहिलेदेखि नै क्रियाशील रहेको जानकारी दिँदै गठन हुन बाँकी रहेका जिल्लाहरूमा समेत संगठन विस्तार गर्ने कार्ययोजना अघि बढाइएको बताए । अध्यक्ष झाले सिडेनलाई नेपाली कांग्रेसका सुभेच्छुक संस्थामध्ये सबैभन्दा सक्रिय र पेशागत रूपमा प्रभावशाली संगठनका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

“देशव्यापी रूपमा सकारात्मक, रचनात्मक तथा पेशागत गतिविधिमार्फत इन्जिनियरहरूको भूमिका अझ सशक्त बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ,” उनले भने । साथै, आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मत वृद्धि गर्न सिडेनले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उम्मेदवारहरूको शुभकामना र अपील
अधिवेशनको उद्घाटन सत्रमा रौतहट जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका नेताहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । विशेष गरी रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना र रौतहट–३ का उम्मेदवार रामकृपाल यादवले इन्जिनियरहरू समाजमा विशिष्ट पहिचान बोकेको पेशागत समुदाय भएको उल्लेख गर्दै आम मतदातामाझ सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे ।

उनीहरूले विकास निर्माण, पूर्वाधार विस्तार तथा सुशासन प्रवद्र्धनमा इन्जिनियरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन सबैलाई आह्वान गरे । साथै सम्पूर्ण इन्जिनियरहरूलाई साथ, सहयोग र समर्थन प्रदान गर्दै आफूहरूलाई मतदान गर्न तथा अन्य मतदातालाई समेत मतदानका लागि प्रेरित गर्न अनुरोध गरे ।
सर्वसम्मत नयाँ कार्यसमिति चयन
अधिवेशनबाट इन्जिनियर प्रविन चौधरी सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै उपसभापति, सचिव, सह–सचिव तथा कोषाध्यक्षसहित अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ । नव–निर्वाचित सभापति चौधरीले संगठनलाई जिल्लास्तरमा अझ सक्रिय, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै इन्जिनियरहरूको पेशागत क्षमता अभिवृद्धि र हकहित संरक्षणलाई प्राथमिकतामा राख्ने बताए ।
नीतिगत पहल र पेशागत सुदृढीकरणमा जोड

कार्यक्रममा अध्यक्ष झाले सिडेनले सधैं इन्जिनियरहरूको हकहित संरक्षण, पेशागत सुदृढीकरण तथा क्षमता अभिवृद्धिका लागि नेपाल सरकारसँग नीतिगत तहमा पहल गर्दै आएको उल्लेख गरे । उनले सार्वजनिक खरिद प्रणाली सुधार, प्राविधिक जनशक्तिको उचित व्यवस्थापन, र गुणस्तरीय पूर्वाधार निर्माणमा इन्जिनियरहरूको प्रभावकारी सहभागिताका विषयमा सिडेनले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए ।
अधिवेशनले संगठन सुदृढीकरण, सदस्यता विस्तार, पेशागत तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, र जिल्लामा विकास निर्माणका सवालमा रचनात्मक सुझाव दिने निर्णयसमेत गरेको छ । कार्यक्रम समापन गर्दै आयोजकले सिडेनलाई रौतहटमा एक प्रभावशाली पेशागत संगठनका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आगामी दिनमा थप सक्रियता बढाइने जनाएको छ ।