रौतहट ,१ फागुन//
रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने भनिएपछि शुक्रवार गौर बजार तनावग्रस्त बनेको छ। गौर बजारको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालयका सामग्री चुपचाप सार्न खोजिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्।
स्थानीय व्यापारीहरू सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलित भएका हुन्।
स्थानीय व्यापारी र व्यवसायीको अवरोधपछि ट्रकमा लोड गरिएका कार्यालयका सामग्रीहरू पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ। सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेको भनिएपछि व्यापारीहरू आन्दोलित बनेका हुन्।
कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट निस्कन लाग्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीसहित स्थानीय व्यापारीहरू ट्रकअगाडि धर्नामा बसेका थिए। स्थिति तनावपूर्ण बनेपछि घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।