रौतहट,१ फागुन //
गत भदौ २३ र २४मा भएको जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक कैदी रौतहटबाट पक्राउ परेका छन्।
बिहीबार सशस्त्र प्रहरी बलको निर्वाचन क्षेत्र नम्बर ४ बेस, सन्तपुरबाट सशस्त्र डिएसपी विश्वनाथ जिसीको नेतृत्वमा खटिएको मोबाइल टोलीले फरार कैदी सागर खाती विश्वकर्मालाई पक्राउ गरेको हो।
चन्द्रपुर नगरपालिका–४ ठाडाटोलका २७ वर्षीय विश्वकर्मालाई चन्द्रनिगाहपुर क्षेत्रबाट पक्राउ गरिएको डीएसपी जिसीले बताएका छन्।
लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका विश्वकर्मा फरार सूचीमा रहेका थिए। उनी चन्द्रनिगाहपुर क्षेत्रमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।
पक्राउ परेका विश्वकर्मालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ। उनलाई पुनः कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ।