रौतहट/ चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको बाल निकतेन माविमा १६ औँ खेल सप्ताह सुरु भएको छ । ६५ औँ सहिद दिवसको अवसर पारेर आयोजना गरिएको सो खेल सप्ताहमा उद्घाटन विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले विद्यालयका खेल संयोजक जीवन बजगाइलाई बल हस्तातरण गरेर गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले खेलले सबैलाई स्वस्थ्य र फुर्तिलो राख्नुका साथै खेलकै माध्यमद्धारा समाज, नगर र राष्ट्रको नाम राख्न सकिन बताउनुभयो ।
विशिष्ठ अतिथि साथी शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष सभासद् राम कुमार भट्टराईले बाल निकतेनले विद्यार्थीमा रहेका खेल प्रतिभालाई प्रष्फुटन गर्न निरन्तर रुपमा विभिन्न खेल कृयाकलापहरुको आयोजना गर्ने गरेको भन्दै बाल निकेतनले यस्ता कार्यलाई निरन्तरता दिने योजना रहेको सुनाउनुभयो । अर्का विशिष्ठ अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले चन्द्रपुर नगरपालिकाले नगरभित्र रहेका खेल प्रतिभाहरुलाई अगाडि बढाउन कुनैपनि कसर नराख्ने भन्दै यस्ता विद्यालय स्तरमा गरिने खेलकुद कार्यक्रममले नयाँ खेल प्रतिभालाई जन्माउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहिदको सम्झना गर्दै आयोजना गरिएको खेल सप्ताहले खेलसँगसँगै राष्ट्रप्रतिको श्रद्धालाई पनि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्ग कुश्वारले खेलकुदले मानिसलाई स्वस्थ्य राख्न मद्धत गर्ने भन्दै सानै उमेरदेखि खुलकुदमा रुचि हुनु राम्रो भएको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुका डिएसपी हेमराज साही, चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण सिग्देल, संचारकर्मी दिपु मिश्रा, मुकेस साह लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व विद्यालयका प्रिन्सिपल राज कुशहवाले गर्नुभएको थियो । सो अवसरमा विद्यालय अध्ययनरत विद्यार्थीहरुले आफ्नाे खेल प्रतिभा तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । विगत १६ वर्षदेखि विद्यालयले सहिद दिवसको अवसर पारेर खेल सप्ताह आयोजना गर्दै आएको र यसपटको खेल सप्ताहमा कुल ४० वटा खेलहरु रहेको जानकारी खेल संयोजक बजागाइले जानकारी दिनुभयो । सो खेल सप्ताहमा विद्यार्थीहरुलाई अन्नपूर्ण, सगरमाथा, गौरीशंकर तथा माछापुच्छ्रे चारवटा सदनमा विभाजन गरेर प्रतिष्पर्धा गराइएको शिक्षक सुजन तिमल्सिनाले बताउनुभयो । सोही अवसरमा विद्यालयले संचालन गरेको तेस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण पनि गरिएको थियो । सो अवसरमा अतिथिहरुले सहिदको तस्विरमा माल्याअर्पण गर्नुभएको थियो ।