रौतहट प्रहरीले सिमावर्ती नाका भारतबाट अवैध रुपमा ल्याईएको ब्रोईलर कुखुरालाई बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गौर परिसरमा बरामद गरिएको ब्रोईलर कुखुरालाई खाल्डो खनेर पुरिएको हो ।भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी बंकुल रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बाट ब्रोईलर कुखुरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार भारतबाट अबैध रुपमा भंसार छलि चोरी पैठारी गरी बोईलर कुखुरा साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा १०६ वटा बोईलर कुखुरा बरामद गरीएको हो । बरामद गरिएको कुखुराको मुल्य १ लाख २७ हजार २ सय रुपैया पर्ने जनाईएको छ । वोईलर कुखुरा बरामद गरी प्रहरीले स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मी तथा प्रहरीहरु समेतको रोहबरमा खाल्डोमा पुरी नष्ट गरेको जनाएको छ । जिल्लाको ग्रामिण भेगमा सिमावती नाकाबाट कुखुरा तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको हो । नेपाल–भारतको खुल्ला सिमनाका कारण रौतहटका कृषकले उत्पादन गरेका कुखुराले बजार पाउन सकेको छैन् । नेपाल भन्दा भारतीय बजारमा कुखुरा सस्तो पर्छ ।भारतीय बजारबाट नै कुखुरा ल्याएर रौतहटका विभिन्न बजारमा बिक्रि हुने गरेकाले यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको गुनासो कृषकको छ । भारतिय बजारबाट कुखुरा सजिलै ल्याउन नपाएपनि तस्करी गरेर ल्याउने गरेकाले मर्कामा परेको नेपालका कुखुरा पालक कृषकहरु बताँउछन् । भारतबाट नेपालमा बैधानिक तरिकाले कुखुरा ल्याउँदा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र ल्याउन पाउने नियम छ । वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको जनाएको छ । सिमावती क्षेत्रमा कडाई गरेपछि कुखुरा र कुखुराका चल्ला बरामद हुन थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।