प्रादेशिक अस्पताल गौरमा अहिले ४० प्रकारका औषधि मात्र वितरण हुने गरेको छ । विगत दुई महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् । सरकारले निःशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग हुने सिटामोल, पखालामा प्रयोग हुने मेट्रानिडाजोल, सङ्क्रमणमा प्रयोग हुने एन्टिबयोटिक एमोक्सिसिलिन लगायत औषधिको अभाव भएको छ ।अस्पतालले ९८ प्रकारका औषधि निश्शुल्क वितरण हुने बोर्ड झुन्ड्याए पनि अस्पतालमा अहिले ४० प्रकारका औषधि मात्र वितरण हुने गरेको छ । प्रादेशिक अस्पताल गौरमा औषधी नहुँदा उपचारका लागि आएका बिरामीले फार्मेसीबाट महँगोमा खरिद गर्नु वाध्यता रहेका उपचारका लागि पुगेका विरामीहरुको गुनासो छ । नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधि मात्र रहने गरेको गौरका स्थानिय अमित भारतीले बताउनुभयो । उहाँका अनुसार बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या र मर्कामा परेका छन् । उपचारमा केही सहज होला भनेर बिमा गरेकाहरुले अस्पतालमा औषधि नपाएपछि निराश भएको उहाँको भनाई छ । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य भएको उहाँले जिकिर गर्नुभयो । टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पनि पटक पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागको भनाई रहेको छ । गर्मी महीनामा अति आवश्यक मानिने जीवनजल, एमोक्सोसिलिन, अझिथ्रल लगायत ५० प्रकारका औषधिको अभाव रहेको औषधि वितरण फाँटले जनाएको छ ।प्रादेशिक अस्पताल गौरमा दुई वर्षदेखि प्रमुखको खिंचातानीमा अस्पतालको अवस्था दिन प्रतिदिन दयनीय हुँदै गएको छ । अस्पताल प्रमुख विवादले अस्पतालमा आउने सेवाग्राहीहरू पीडित बन्ने गरेका छन् ।समयमा चिकित्सक नआउने, आए पनि जाँचमा रुचि नदेखाउने, निजी क्लिनिकमा जाँच गराउन सुझाव दिने जस्ता अनेकौं समस्याबाट सेवाग्राहीहरू ग्रसित भइरहेका छन् ।प्रमुख मुरारी ठाकुर अस्पतालमा समय नदिएर बाहिर बस्ने गरेकाले अस्पतालको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको छ । कार्यालय समयमा प्रमुख ठाकुरसँग विरलै सम्पर्क हुन सक्छ ।