रौतहट, २४ बैशाख / गैरसरकारी संस्था माण्डवीको आयोजनामा चन्द्रपुरमा महिला जनप्रतिनिधी र पत्रकार बीच अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ । अष्ट्रेलियन एड र स्वीस सरकारको आर्थिक सहयोग र आइएफइएस नेपालको प्राविधिक सहयोगमा शी लिड्स परियोजना अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा मधेस प्रदेशका पाँचवटा जिल्लाहरुको निर्वाचित स्थानिय तहका महिला जनप्रतिनिधी तथा संचारकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सो अन्र्तक्रिया कार्यक्रममा सहभागी अधिकास महिला जनप्रतिनिधीहरुले आफुहरुलाई पुरुष वडाध्यक्ष, नगरप्रमुखले वेवास्ता गर्ने गरेको गुनासो गर्नुभएको थियो । वजेट बाँडफाँड, नितिगत निर्णय लगायतका हरेक प्रक्रियाहरुमा आफुहरुलाई केवल सही मात्र गर्ने माध्यमको रुपमा लिइएको उहाँहरुको गुनासो थियो ।
रौतहटको वृन्दावन नगरपालिकाकी उपप्रमुख संगिता रामले महिला जनप्रतिनिधीहरुलाई पुुरुष जनप्रतिनिधीहरुले देशको संविधान, ऐन, कानुनले दिएको अधिकारबाट पनि बञ्चित गर्न निरन्तर चलखेल गर्ने गरेको बताउँदै यसको प्रतिकार सबै महिला जनप्रतिनिधी समान मुद्धामा एकै ठाउँमा उभिएर गर्नुपर्नेमा जोड दिनुभयो ।
जनकपुर नगरपालिका वडा नम्बर ६ की दलित महिला सदस्य शान्ति दासले माण्डवीको शी लिड्स परियोजना पश्चात आफुहरुले आफ्नो हक अधिकारको बारेमा धेरै जानकारीहरु प्राप्त गरेको जनाउँदै अब आफु पनि नगर तथा वडाबाट हुने हरेक काम कारवाहीमा चासो राख्न थालेको, महिला , दलित मैत्री वजेट बनाउन भूमिक खेल्न थालेको बताउनुभयो ।
बर्दिबास नगरपालिका ३ कि महिला सदस्य सपना रानाले शी लिड्स परियोजनाको कारण महिला जनप्रतिनिधीहरु सक्षम भएपछि समाजका नागरिकहरुले पनि यसको प्रत्यक्ष लाभ लिएका बताउँदै यस परियोजनामा सहभागिहरुको कार्यक्षमतामा आएको परिवर्तन देखेर सबै दंग परेको उल्लेख गर्नुभयो ।
संचारकर्मी प्रभात झाले महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि गर्दै नेतृत्व विकास गर्न सञ्चार माध्यम र संचारकर्मीहरुले निरन्तर सकारात्मक भूमिका खेलीरहेको स्मरण गर्दै आगामि दिनहरुमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
माण्डवीले मे २०२२ देखि मधेस प्रदेशका ५ वटा जिल्लाका २८ वटा पालिकाहरुमा शी लिड्स कार्यक्रम सञ्चालन गर्दै आइरहेको माण्डवीका अध्यक्ष अञ्जु झाले जानकारी दिनुभयो । कार्यक्रममा मधेस प्रदेशका ६०९ जना निर्वाचित महिला जनप्रतिनिधीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । राजनीतिक निर्णय प्रक्रियामा लैङ्गिक समानता अभिवृद्धि गर्ने तथा मधेश प्रदेशका निर्वाचित महिला वडा सदस्यहरूलाई उनीहरुको भुमिका र जिम्मेबारी पूरा गर्न नेतृत्व सीप तथा ज्ञान प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको उहाँले जनाउनुभयो ।
कार्यक्रममा आइएफइएस नेपालका तर्फबाट पूर्व प्रराष्ट्रमन्त्री विमला पौडेल, रिता राई, राधिका रेग्मी लगायतको उपस्थिती रहेको थियो भने आयोजक माण्डवीको तर्फबाट कार्यक्रम संयोजक मनिलाल बैठा, कार्यक्रम अधिकृत सुबिन्द्र दास लगायतको सहभागिता रहेको थियो ।