रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित एक घरबाट वन गस्ति टोलीले तयारी अबस्थामा बनाएर राखिएको झयालको चैकोस र कडी बरामद गरेको छ । डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरको वन गस्ति टोलीले विशेष सूचनाका आधारमा छापामारी गर्दा झयालको चैकोस र कडी बरामद गरेको हो । डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहको नेतृत्वमा र सब डिभिजन कार्यालय गैँडाटारका कर्मचारी र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले गस्ति गर्ने क्रममा फेला परेको जनाएको छ । गैँडाटारको एकघरमा छापामारी गर्दा सालको तयारी झ्याल ८ थान र १४ थान कडी बरामद गरेको हायक अधिकृत राजेश साहले जानकारी दिनुभयो । बिशेष सुराकीको आधारमा काठ बरामद गरेको उहाँले प्रष्ट पार्नुभयो । बरामद काठको बजार मूल्य १ लाख २५ हजार बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । बरामद काठहरू डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय रौतहटले वनमा हुने चोरी तस्करी नियन्त्रणको कार्यलाई भने विशेष जोड दिदै आएको छ । चोरी तस्करीमा संग्लनलाई वन गस्ति टोलीले पक्राउ आवश्यक कारवाहि गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ । रौतहटको कूल क्षेत्रफल १,१२,६०० हेक्टर रहेकोमा जसमध्ये २९४०२.९८ हेक्टर वा २६.११% भू–भाग वन क्षेत्रले ढाकेको पाइन्छ । यहाँको पूर्वमा वागमती नदी, पश्चिममा बारा जिल्लाको सिमाना हुदै धनसर खोला, उत्तरमा मकवानपुर जिल्लाको सिमानामा पर्ने चुरे पहाडको दक्षिणी मोहडाको पानीढलो र दक्षिणतर्फ नेपाल भारत अन्तराष्ट्रिय सिमानाले छुट्टाएको पाइन्छ । डिभिजन वन कार्यालय रौतहट, २०७६÷०७७ का तथ्याङ्क अनुसार जिल्लाको कुल वनक्षेत्रको हस्तान्तरित सामुदायिक वन क्षेत्र ७५६५.५४ हे. (४३ वटा समूह, १ वटा प्रस्तावित समुह), साझेदारी वन क्षेत्र ११,९२७.९७ हेक्टर (३ वटा) र धार्मिक वन २६.३९ हे. (३ वटा) रहेका छन् । साथै यस जिल्लाको १०५२.९२ हेक्टर वनक्षेत्र धनसर ब्लक फरेष्टको रुपमा रहेको छ । डिभिजन वन कार्यालय रौतहटले काठ चोरी तस्करीमा संग्लन गर्नेलाई पक्राउ र वन संरक्षणका लागि वृक्षारोपण सहितका कार्यहरु गर्दै आएको छ ।