रौतहट, २४ असार / विद्युतिय कारोेबार मुद्धाको सिलसिलामा अदालतबाट पक्राउ पुर्जी जारी भएको रौतहटकी रोशनी कुमारी साहलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले मिति २०८० पुष २० गते रौतहटको वृन्दावन नगरपालिकाकोे विश्रामपुर घर भइ हाल चन्द्रपुर नगरपालिका वडा नम्बर ६ देउराली चोक बस्ने नन्दलाल साहकी छोरी रोशनी कुमारी साह विरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनी फरार हुँदै आइरहेकी थिइन् । प्रहरीले उनलाई यहीं असार १८ गते सलार्हीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई लुकीछिपी रहीरहेको अवस्थमा सलार्हीको गौडैता नगरपालिका वडा नम्बर ४ रेहुवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साहले सामाजिक संजालको प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै पिडित महिलाले काठमाडौं प्रहरीमा उजुरी गरेकी थिइन् । सोही अनुसन्धानको सिलसिलामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ परेकी साह विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटले पनि पक्राउ पुर्जी जारी गरेको थियो । २०८१ बैशाख ९ गते उनलाई अभद्र व्यवहारको सिलसिलामा अनुसन्धान गर्न भन्दै पक्राउ पुर्जी जारी भएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साहका श्रीमान मिश्रीलाल साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोशनी कुमारी साह भएको अभद्र व्यवहार सम्बन्धी कसुरमा खुल्न तत्कालै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्नु पर्ने र तत्काल निजलाई पक्राउ नगरे भागी गई मुद्धासंग सम्बद्ध प्रमाणहरू लोप, नाश हुन सक्ने भएकोले मुलुकी फौजदारी कार्यबिधी संहिता, २०७४ को दफा ९ को उपदफा (२) बमोजिम साहलाई पक्राउ गर्ने अनुमतीको लागि जिल्ला प्रशासन कार्यालयमा अग्रह गरेकोमा सो कार्यालयले पक्राउ अनुमति दिएको थियो । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाउने बित्तिकै फरार रहदै आइकी थिइन् ।
हाल उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनी विरुद्ध रौतहट तथा काठमाडौं दुबैतिर मुद्धा चलेकाले रौतहटको अनुसन्धान सकेर उनीलाई काठमाडौं प्रहरीमा पनि हाजिर गराउने तयारी प्रहरीले गरेको छ ।