रौतहट, २५ असोज/ डिभिजन वन कार्यालय रौतहटका वन कर्मचारी र तस्करहरूको मिलोमतोमा रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा रहेको रामलाल वृन्दावन साझेदारी वनमा व्यापक रुख कटान र तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन् । पहिलेदेखि नै तस्करहरूको प्रमुख रोजाइमा रहेको सो वन क्षेत्रमा पछिल्लो एक महिना यता अझै व्यापक काठ तस्करी भइरहेको स्थानीयको भनाइ छ। तस्करहरूले दिनदहाडै जंगलमा गएर अग्ला सालका रुखहरू काट्ने गरेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार तस्करहरूले वन कर्मचारी र साझेदारी वनका पदाधिकारीहरू सँगको मिलोमत्तोमा सालका रुखहरू काटेर जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्ला सर्लाही पुर्याउँदा पनि वनका कर्मचारीहरुले समात्न नसक्नु सेटिङको गतिलो उदाहरण भएको स्थानीयको आरोप छ।
सो वन क्षेत्रका अधिकांश स्थानहरूमा अहिले व्यापक रुखकट्टा भइरहेको पाइएको छ। भर्खरै काटिएका रुखका ठुटाहरु वनभरि देख्न सकिने स्थानीय प्रेमशंकर यादव बताउँछन् । उनले अनुसार आफूहरूले पटकपटक वनका कर्मचारी र डिएफओलाई यस बारेमा जानकारी गराए पनि तस्करी रोक्न कुनै भूमिका नखेलेको उल्टै तस्करहरुलाई सहयोग गरेको आरोप लगाए । उनले वन कार्यालय नजिकै बाट दैनिक सयौंको सङ्ख्यामा साइकलमा काचा काठका दाउराहरू र गोलिया ओसारपोसार हुँदा पनि कुनै प्रतिक्रिया नदिएको र देखे पनि नदेखे झैँ गरेको बताउँदै ती साइकलवालासँग पनि १०० देखि ५०० सम्म कमिसन खाने गरेको आरोप लगाए। तस्करहरूसँग मिलेर वन कर्मचारीहरू नै वन सखाप पार्न लागि परेको देख्दा निकै दुःख लागेको स्थानीय बताउँछन् ।
यता डिभिजन वन वन कार्यालय रौतहट भने आफूहरू वन संरक्षणमा दिन रात खटिरहेको बताउँदै आइरहेको छ । आफूहरूले तस्करहरूलाई समात्न प्रयत्न गरिरहेको र सीमित स्रोत साधनका बावजुद पनि जिल्लाभरिकै वन संरक्षणमा सफलता हासिल गरिरहेको वन अधिकृत राजेश शाह बताउँछन्