रौतहट,७ कार्तिक
रौतहटको डिभिजन वन कार्यालयको वन गस्तीटोलीले बुधबार बिहान राष्ट्रिय वन क्षेत्रबाट २ थान बन्दुक र खयरको २० थान डमरु सहित एकजनालाइ पक्राउ गरेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्र्तरगत गैडाटार सव डिभिजन वन कार्यालय रौतहटको रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको ५ जनाको गस्ती टोलीले बन्दुक र खयरको डमरु सहित एकजनालाइ पक्राउ गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राजेश साहले जानकारी दिएका छन ।
बिषेश सुचनाको आधारमा रेन्जर लामिछानेको नेतृत्वमा गएको गस्तीटोलीले चन्द्रपुर नगरपालिका वाड नंं ३ को राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गरि वसेको ख्याकु गाउँको कान्छामान जिम्वालाइ बन्दुक सहित पक्राउ गरेको सहायक वन अधिकृत साहले बताए ।
३ घण्टा वन क्षेत्रमा खोजेपछि जिम्बाको गोठमा खानतलाशी गर्दा भरुवा वन्दुक थान २ र खयरबाट तयार भएको डमरु थान २० बरामद गरेको अधिकृत साहले जानकारी दिए ।
पक्राउ परेका कान्छामान जिम्बालाइ अबैध वन पैदावार हानी नोक्सानी र हातहतियार सम्बन्धी मुद्दा चल्ने र उनको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख वन अधिकृत हेमन्त साहले बताए । सो क्षेत्रमा अबैध खयर कटानी गरेको सुचनाको आधारमा आफुले गस्तीटोली पठाएको उनले बताएका छन ।
केही दिन अगाडी पनि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ सानो खरियान डाडामा पनि वन अतिक्रमण हटाएर बृक्षारोपण गर्दा वन कर्मचारी माथि हातपात गर्न खोजेका थिए । वन क्षेत्र जोगाउन स्थानिय जनप्रतिनिधिहरुको सहयोग अति जरुरी भएको समेत वन प्रमुख साहको भनाइ छ ।
चुरेक्षेत्रमा रहेको खयरको तस्करी गर्ने एउटा गिरोह नै सक्रिय रहेको थियो । खयर दुर्लभ प्रजातिको रुखमा पर्दछ ।