रौतहट , १२ बैशाख / रौतहटको मध्यभाग रहेको गरुडा नगरपालिकामा सुशासन सम्बन्धि प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न भएको छ । तराई बिकास तथा संचार केन्द्र नेपालको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा महालेखा परीक्षक सचिव पदमराज पौडेलले जिल्लाको १८ स्थानियतहको बेरुजु ११ अरब ४३ करोड पुगेको बताएका छन् । उनले स्थानिय निकायमा आउने बिभिन्न शीर्षकको अनुदान बजेटबाट विकास निर्माण, शान्ति सुरक्षा, शिक्षा, स्वास्थ लगायतको व्यवस्थापन गर्नु पर्नेमा पालिका प्रमुखहरू मनपरी शीर्षक राखेर रकम खर्चिने चलनको कारण दिनानुदिन बेरुजु बढ्दै गएको गुनासो गरेका थिए ।
मधेश प्रदेशको कैयौँ पालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई कामै गर्न नदिने , एउटै व्यक्तिलाई पटक पटक अनुदान र विधीको कानुन कार्यान्वयन नगर्ने परमपरा बढ्दै गएको उनको भनाई रहेको छ । मधेश प्रदेश शिक्षा क्षेत्रमा पछाडि रहेपनि कैयौं क्षेत्रमा अगाडी रहेको बताउँदै सचिव पौडेलले स्थानिय निकायमा अनावश्यक खर्च बढिरहेको प्रती सहभागी जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

गरुडा नगरपालिका कार्यालयको सहकार्य, जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन र तराई विकास तथा सञ्चार नेपाल काठमाण्डौको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐतिहासिक पृष्ठभूमी, संवैधानिक, कानुनी तथा संरचनागत व्यवस्था, संस्थागत रणनीति, भ्रष्टाचारजन्य कसुरहरुको बारेमा जानकारी, आयोगको छानवीन तथा अनुसन्धान प्रकृयाहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिहरु, नेपालमा भ्रष्टाचारको वर्तमान अवस्था, अनुसन्धान तथा छानवीनका क्रममा आइपर्ने समस्याहरु तथा चुनौतीहरु जस्ता विषयवस्तुहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा महालेखाका सचिव पदमराज पौडेल र विशिष्ट अतिथि अख्तियार हेटौडाका प्रमुख उमाकान्त आचार्य, सार्वजनिक खरिद कार्यालयका धर्मेन्द्र कुमार झा, सिडियो खड्का , गरुडाका मेयर कन्थमणि जैसवाल, गौरका मेयर शम्भु साह, बौधिमाईका मेयर प्रदीप यादव लगायतले सम्बोधन गरेका थिए। उक्त अवसरमा देवाही गोनाहिका मेयर प्रेमलाल साह, राजदेवीका मेयर भिखारी यादव,नेपाली सेनाका कर्णेल किशोर अधिकारी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपि सन्तोष कुमार बस्नेत, अनुसन्धानका एसपी अभिनय कुमार सिंह, लगायत जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत लगायत दुई सय जनाको सहभागिता रहेको थियो।