रौतहट , १२ बैशाख/ अख्तियार दूरुपयोग अनुसन्धान कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले अख्तियारमा उजुरी पर्दैमा आत्तिनु नपर्ने बताएका छन् । उनले कुनै पनि विकास निर्माण लगाएत कामबारे अख्तियारमा उजुरी पर्दैमा कोही दोषी नहुने बताएका हुन् । उजुरी परेपछि अनुसन्धानका लागि उजुरी संग सम्बन्धित व्यक्तिलाई बोलाएर वयान लिने र सबैको वयान सकेपछि तथ्यगत प्रमाणको आधारमा मात्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरिएको आचार्यले बताएका छन्। गरुडा स्थित सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक आयोजित एकदिने कार्यक्रममा बोल्दै आचार्यले आफूहरुका लागि उजुरी सूचनाको रूपमा मात्र रहने गरेकोले यसलाई मुद्दाको रूपमा नलिन आग्रह गरेका छन्। अख्तियारले अनुसन्धानको क्रममा उजुरी संग सम्बन्धित कागजातहरू माग्दा धेरै स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले ढिलासुस्ती गर्नेगरेको बताउँदै उनले अख्तियारले कागजात माग्ने बित्तिकै तुरुन्त उपलब्ध गराउनेतिर ध्यान दिनुपर्ने बताएका थिए । अख्तियारले नियतबस जानी जानी दुःख दियो भनी धेरैले भन्ने गरेको भन्दै उनले अख्तियारले नियतबस बिना गल्तीको कसैलाई दुःख दिने काम नगरेको समेत उनले प्रष्ट्याएका थिए ।
अनुसन्धान पछि अख्तियारले एकलैले चाहेमा मुद्दा नचल्ने बताउँदै उनले कुनै विषयमा मुद्दा दायर गर्नुभन्दा अघि सरकारी वकिल लगाएत अन्य सरोकारवालाहरु संग राय सल्लाह लिने गरिएको र मुद्दा चलाउन उनीहरु सहमत भएपछि मात्र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको उनले सुनाएका थिए । जनप्रतिनिधी र कर्मचारीहरु आ–आफ्नो कार्य प्रति पूर्ण वफादार, उत्तरदायी एवं जिम्मेवार भई इमान्दारीका साथ पारदर्शी ढंगले काम गर्यो भने भ्रष्टाचार आफैं समाप्त भएर जाने तथा सुशासन कायम हुने उनले बताएका थिए ।

रौतहटका सिडियो विनोद कुमार खड्काले जिल्लामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्चालन हुँदै आइरहेको बताएका थिए। उनले भ्रष्टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनताको भावनाको सम्मान नभएको कारण अख्तियारमा उजुरी पर्नु स्वभाविक रहेकाले जनताको चाहना र आकांक्षा अनुसारको काम गर्न सिडियो खड्काले जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए।