रौतहट ,३० चैत//
चन्द्रपुरमा किशोरी तथा युवतीहरूका लागि सुरक्षित तथा सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सेफ गर्ल्स (SAFE-Girls)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कोइका (KOICA) र यूएनएफपीए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र आरडिसी नेपाल र नेबर्स इन्टरनेशनल नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
आरडिसी नेपालकी कार्यकारी सदस्य नरमदा तामाङको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा परियोजना संयोजक प्रिया चौरसियाले उद्घोष गर्नुभएको थियो। यस्तै प्रशिक्षक द्वोय पलिता थापा र कमलातारा बज्राचार्यले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमअन्तर्गत लैंगिक हिंसा (GBV) केस व्यवस्थापन, प्रविधि–माध्यमित लैंगिक हिंसा (TFGBV) तथा प्रविधिमार्फत हुने बालविवाह (TFCM) सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रममा राजपुर , यमुनामाई गाउँपालिका, गौर नगरपालिका र परोहा नगरपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
‘सेफ गर्ल्स’का मिल अफिसर सौगात थापाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य किशोरी तथा युवतीका लागि सुरक्षित वातावरण निर्माण गर्नु, प्रविधिमार्फत हुने लैंगिक हिंसा न्यूनीकरण गर्नु र बालविवाह अन्त्यका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नु रहेको थियो।
समापन कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै भने, “प्रविधिको दुरुपयोगबाट हुने हिंसा रोक्न र बालविवाह अन्त्य गर्न यस्तो अभिमुखीकरण निकै उपयोगी भयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।”
उनीहरूका अनुसार कार्यक्रमले समुदायस्तरमा सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ र यसबाट लैंगिक हिंसा न्यूनीकरण तथा बालविवाह रोकथाममा ठोस प्रभाव पर्ने अपेक्षा गरिएको छ।