वैशाख ०२ गते ।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज बढ्दै गएको छ । गत मंसिर अन्तिम साता भएको ११औँ राष्ट्रिय महाधिवेशनमा ओली पक्षबाट निर्वाचित भएका कतिपय पदाधिकारीले समेत ओलीको विकल्प नखोजे नेकपा एमाले र कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताउन थालेका छन् ।
महाधिवेशनमा ओली प्यानलबाटै उपाध्यक्ष जितेका विष्णु पौडेलदेखि महासचिव शंकर पोखरेलसम्म ओलीको विकल्पबारे सोच्न बाध्य भएका हुन् । यद्यपि शंकर पोखरेलले सार्वजनिक रूपमा ओलीको विकल्पबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् ।
अर्का उपाध्यक्ष पृथ्वीसुब्बा ९पीएस० गुरुङ पनि अध्यक्ष ओलीसँग पूर्ण सन्तुष्ट हुन नसकेपनि सार्वजनिक रूपमा ओलीविरुद्ध ‘मौन’ बसेर विकल्पको संकेत गरिरहेका छन् ।
यसैगरी सचिव हिक्मत कार्की, शेरधन राई लगायतका नेताहरु पछिल्ला दिनमा पार्टी पुनर्गठन नगरेसम्म अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् ।
जनेजी विद्रोहपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनको अहिलेसम्म औपचारिक समीक्षा नगरेको नेकपा एमालेले अबचाहिँ निर्वाचनको गम्भीर समीक्षा गर्दै अध्यक्ष ओलीलाई बिदाइ गरेर पार्टी पुनर्गठनमा लाग्नुपर्ने जिल्ला, प्रदेश र केन्द्रसम्मका नेताहरुबिच छलफल भइरहेको अनौपचारिक कुराकानीका क्रममा नेताहरू बताउँछन् ।
‘निर्वाचन भएको डेढ महिना वित्न लाग्यो एमालेमा निर्वाचनको बस्तुनिष्ठ समीक्षा नै भएको छैन’, एक पदाधिकारी भन्छन्,‘महासचिवले जिल्ला र प्रदेश अध्यक्षलाई चैत महिनाभित्र समीक्षा रिपोर्ट पठाउन मौखिक निर्देशन दिएबाहेक संस्थागत ढंगले कुनै छलफल भएको छैन ।’
त्यसो त एमालेमा निर्वाचनको समीक्षा पहिला केन्द्रमा गर्नुपर्ने अनिमात्र जिल्ला तथा प्रदेशमा गर्नुपर्ने आवाज समेत उठ्न थालेको बताइएको छ ।
एकैचोटी तल्ला कमिटीलाई रिपोर्ट पठाउनु भनेर उनीहरूले के रिपोर्ट पठाउँछन् एक जिल्ला अध्यक्ष भन्छन्, ‘रिपोर्ट त बन्छ तर बस्तुनिष्ठ रिपोर्ट बन्दैन ।’
ती नेताका अनुसार जेनजी आन्दोलनताका सरकारको नेतृत्वकर्ताको हैसियतमा नैतिक जिम्मेवारी लिने कुरा नभएपनि निर्वाचनमा आएको नतिजामा नेतृत्वको कहीँ न कहीँ कमजोरी छ भन्ने बुझिन्छ । तर त्यसमा नेतृत्व आत्मालोचना गर्न तयार छैन ।
विष्णुको भर छैन
कतिपयले उपाध्यक्ष विष्णु पौडेल संस्थापन इतर पक्षमा उभिएको देखिएपनि उनको भर गरिहाल्ने अवस्था नरहेको बताएका छन् । ‘११ औं महाधिवेशनमा पनि उहाँसँग धेरै चरण कुरा भए तर खुट्टा टेक्नुभएन ।
अहिले पनि कस्सिनु त भएको छ तर उहाँको भर छैन । कुन बेला कता पुग्नुहुन्छ पत्तो नै हुँदैन’, एक पदाधिकारी भन्छन्, ‘अध्यक्ष अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने सचिवालय बैठकमार्फत थप प्रस्ट रुपरेखा थाहा होला ।’
त्यसो त एमालेको ११ औं महाधिवेशनमा ओलीको विपक्षमा समूह बनाएर प्रतिस्पर्धा गरेका नेताहरूले जिल्ला जिल्लाबाट पार्टी पुनगर्ठनका लागि दबाब बढाउन आआफ्ना ठाउँबाट प्रयास भइरहेको बताएका छन् ।
यद्यपि उनीहरूले अस्पतालमा भएका बेला नेतृत्व हटाउन पहल गरेको भनेर अनर्थ लाग्ने भएकाले उक्त पहललाई न्यूनीकरण गर्नुपरेको बताएका छन् ।