वीरगन्ज,१० जेष्ठ//
चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज भन्सार नाका हुँदै रु ७ खर्ब ९४ अर्ब ८७ करोड बराबरका वस्तु तथा सामान आयात भएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ खर्ब २ अर्ब ४४ करोड अर्थात् १५ प्रतिशतले बढी हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ तथा फलामजन्य वस्तुको आयात बढेकाले कुल आयातमा वृद्धि भएको हो ।
चालु आवको १० महिनामा रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन् । त्यस्तै रु ६९ अर्ब ४२ करोडको फलाम तथा फलामजन्य सामग्री, रु ५७ अर्ब ६६ करोडको मेसिनरी तथा पार्टपुर्जा र रु ५५ अर्ब ७ करोड बराबरको भटमासको कच्चा तेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।