बारा ,१०जेष्ठ//
सांसद रहबर अन्सारीले बारामा आयोजित विस्तारित बैठकका क्रममा आफूहरू ‘लखेटिएको’ भन्ने प्रचार गलत भएको बताएका छन् ।
जिल्ला सभापतिलगायत केही व्यक्तिलाई कारबाही गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आयोजित कार्यक्रममा सहभागी हुन जाँदा केही व्यक्तिले होहल्ला गरेको उनले बताए ।
अन्सारीका अनुसार कार्यक्रम सहज बनाउन सुरक्षाकर्मीको सुझावमा केही समय अर्को कोठामा बसेको मात्रै हो ।
उनले भने, “हामीलाई भगाइएको वा लखेटिएको भन्ने कुरा पूर्ण रूपमा गलत हो । केही समय सुरक्षित स्थानमा बसेपछि कार्यक्रम पुनः सञ्चालन भएर सम्पन्न भएको थियो ।”
सांसद अन्सारीले सामाजिक सञ्जालमा भिडियोको अंश मात्रै काटेर भ्रम फैलाइएको आरोप पनि लगाए ।
उनले पार्टीको नीति विपरीत काम गर्ने र उम्मेदवारलाई असहयोग गर्ने व्यक्तिमाथि कारबाही गरिएको स्पष्ट पार्दै पार्टीभित्र अराजक गतिविधिलाई स्थान नदिने बताए ।