महोत्तरी,१० जेष्ठ//
पछिल्लो चार महिनामा महोत्तरीमा २०९ जनाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् ।
सरकारले बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था लागू गरेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता वितरण सुरु गरिएको हो ।
गत २०८२ पुस ११ गते मन्त्रिपरिषद्ले यस्तो व्यवस्था गर्ने निर्णय गरेको थियो । त्यसपछि पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि देशभरका जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि परिपत्र गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यक कागजी प्रक्रिया र स्वघोषणा पूरा गरेका नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका व्यक्तिहरूलाई माघ ६ गतेदेखि नागरिकता दिन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले २०८२ माघ ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म २०९ जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको जनाएको छ ।