काठमाडौं,१० जेष्ठ//
जातीय विभेद, उत्पीडन र दलितमाथि भइरहेका हिंसाविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रतिरोधात्मक प्रदर्शन गरिएको छ ।
जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित प्रदर्शनमा देशभरबाट उत्पीडित समुदाय, मानवअधिकारकर्मी तथा बौद्धिक व्यक्तिहरू सहभागी भएका थिए ।
प्रदर्शन रुकुम सोती घटनामा मारिएका नवराज विकसहित ६ युवाको स्मरण तथा न्यायको माग गर्दै गरिएको जनाइएको छ । अन्तरजातीय प्रेमकै कारण हत्या हुनु लोकतान्त्रिक व्यवस्थामाथिको प्रश्न भएको भन्दै सहभागीहरूले आक्रोश व्यक्त गरेका थिए ।
प्रदर्शनकारीहरूले भूमिहीन दलितलाई खेतीयोग्य जमिन उपलब्ध गराउन, दलित विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रवृत्ति सुनिश्चित गर्न र दलित हत्याकाण्डको न्यायिक छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न माग गरेका छन् ।