जेठ १०, रौतहट
रौतहटमा बाघ संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा स्थानीय सञ्चारमाध्यमलाई थप जिम्मेवार र सचेत बनाउने उद्देश्यले एक कार्यक्रम सम्पन्न गरिएको छ । वन कार्यालय रौतहटको आयोजना तथा तराई भू–परिधि कार्यक्रमको सहयोगमा आइतबार वन कार्यालयको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह ले बाघ संरक्षणको वर्तमान अवस्था, वन्यजन्तुको महत्व तथा मानव–वन्यजन्तु द्वन्द्वका कारण र समाधानबारे विस्तृत जानकारी दिनुभएको थियो ।
उहाँले रौतहट जिल्लामा वन क्षेत्रको अवस्था पछिल्लो समय सुधारोन्मुख रहेको बताउंदै वन तथा वन्यजन्तु संरक्षणमा स्थानीय समुदाय, सञ्चारमाध्यम र सरोकारवालाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।अधिकृत साहका अनुसार गत वर्ष जिल्लाका केही वन क्षेत्र आसपास बाघको आक्रमणबाट मानिसको मृत्यु तथा घाइते भएका घटनाहरू सार्वजनिक भए पनि ती अधिकांश घटना मानिसहरू वन क्षेत्रमा प्रवेश गरेका बेला भएको पाइएको छ ।
“हालसम्म बाघले मानिसको घरभित्र वा बस्तीमै पुगेर आक्रमण गरेको घटना रौतहटमा देखिएको छैन,” उहांले भन्नुभयो । विशेषगरी साझपख वन क्षेत्रमा घांस दाउरा गर्न जांदा वा अचानक बाघसंग आमनेसामने हुंदा यस्ता घटना हुने गरेको उहांको भनाइ थियो ।
कार्यक्रममा उहांले बाघको स्वभाव, आहार, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे पनि जानकारी गराउनुभयो । बाघ सामान्यतया मानिसबाट टाढा रहन चाहने जनावर भए पनि आफनो सुरक्षाका लागि वा बच्चाको रक्षा गर्ने क्रममा आक्रामक बन्न सक्ने बताइएको थियो । बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिंगा लगायतका वन्यजन्तुलाई आहाराका रूपमा प्रयोग गर्ने जानकारी दिइयो ।
नेपालमा हाल करिब ३ सय ५५ वटा पाटे बाघ रहेको उल्लेख गर्दै अधिकृत साहले विश्वका १३ देशमा बाघको संख्या करिब ३ हजार ९ सय रहेको र सन् २०२२ सम्म यसलाई ६ हजार पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
उहांले बाघ संरक्षण केवल वन कार्यालयको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।रौतहटका विभिन्न वन क्षेत्रमा हाल पनि बाघको बसोबास रहेको जानकारी दिँदै उहाँले लमाहा नदी आसपासको वन क्षेत्र, धन्सार वन, हातेमालो सामुदायिक वन उपभोक्ता समूह, रंगपुर साझेदारी वनको सतियारी क्षेत्र, गैडाटार वन, बागमतीको जुडिबेला तथा पौराई क्षेत्र, रामलाल वृन्दावन साझेदारी वनको तोरीबारी क्षेत्र तथा फतुवा विजयपुरस्थित नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको उपस्थिति देखिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई वन्यजन्तुसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार ढंगले समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको थियो । गलत वा अतिरञ्जित समाचारले जनमानसमा डर र भ्रम फैलन सक्ने भएकाले संरक्षणमुखी पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।
डिभिजन वन कार्यालयका अनुसार रौतहट जिल्लाको कुल १ लाख ३ हजार ८ सय ५६ हेक्टर भू–भागमध्ये करिब ३० हजार १ सय ७७ हेक्टर क्षेत्र वनले ओगटेको छ । वन क्षेत्र विस्तारसंगै वन्यजन्तुको संख्या बढ्दै गएकाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूह तथा सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको कार्यक्रममा औंल्याइएको थियो ।