जेठ २७, रौतहट
रौतहट जिल्लाका वन क्षेत्रको अवस्था पछिल्ला केही वर्षयता उल्लेखनीय रूपमा सुधारोन्मुख बन्दै गएको पाइएको छ। वन क्षेत्रमा हुने चोरी कटानी, तस्करी तथा अतिक्रमणजस्ता गतिविधि नियन्त्रणमा आउन थालेपछि स्थानीयवासीहरूले वन व्यवस्थापनप्रति सकारात्मक प्रतिक्रिया दिन थालेका छन्।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहले जिम्मेवारी सम्हालेपछि वन संरक्षण तथा व्यवस्थापनमा कडाइ गरिएको स्थानीयवासीहरूको भनाइ छ। विगतमा वन क्षेत्रमा व्यापक रूपमा हुने गरेको अवैध फडानी, काठ तस्करी तथा वन अतिक्रमणका घटनालाई नियन्त्रण गर्न वन कार्यालय सक्रिय रूपमा लागेको देखिएको छ।

वन अधिकृत साहले वन क्षेत्रको वास्तविक अवस्था बुझ्दै चोरी कटानी, वन विनाश तथा तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेका छन्। उनी स्वयं वन क्षेत्रको अनुगमन तथा निरीक्षणमा पुग्ने गरेका छन् भने वनसँग सम्बन्धित सम्पूर्ण साझेदार निकायलाई समेत जिम्मेवार बनाउने प्रयास गरिरहेका छन्।
सञ्चारकर्मीसँगको कुराकानीमा डिभिजन वन अधिकृत साहले आफूले जिम्मेवारी सम्हालेपछि कुनै पनि राजनीतिक दबाब वा बिचौलियाको प्रभावमा नपरी कानुनअनुसार काम गर्दै आएको बताएका छन्। “हामी जनता र जंगल दुवैको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छौं। वन क्षेत्रको संरक्षण, व्यवस्थापन र सुरक्षामा हाम्रो सम्पूर्ण टोली दिनरात खटिएको छ,” उनले भने।
उनका अनुसार वन कर्मचारीहरूलाई इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ भने नियमित गस्ती परिचालन गरी वन पैदावार चोरी निकासी रोक्ने काम भइरहेको छ। वन क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाइएकाले पहिलेको तुलनामा चोरी तथा तस्करीका घटना उल्लेखनीय रूपमा घटेको दाबी गरिएको छ।
डिभिजन वन कार्यालयले वन अतिक्रमण नियन्त्रणलाई समेत प्राथमिकतामा राखेको छ। कार्यालयका अनुसार विगत दुई वर्षको अवधिमा जिल्लाका विभिन्न वन क्षेत्रमा रहेका अतिक्रमित जग्गा तथा अवैध रूपमा निर्माण गरिएका घर–टहरा हटाउने कार्य प्रभावकारी रूपमा सम्पन्न गरिएको छ।
वन अधिकृत साहले आफू र आफ्नो टोलीले अतिक्रमण भएका क्षेत्रहरू खाली गराउनुका साथै वन पुनस्र्थापनाको अभियानलाई समेत तीव्रता दिएको बताए। कटान तथा विनाश भएका वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्ने, प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण गर्ने तथा नियमित रेखदेखको व्यवस्था मिलाइएको उनको भनाइ छ।
वन संरक्षण अभियानअन्तर्गत कार्यालयले अतिक्रमणकारीविरुद्ध कानुनी कारबाहीलाई पनि निरन्तरता दिएको छ। सोही क्रममा २०८१ साल चैत २४ गते वन अतिक्रमण गरेको आरोपमा वृन्दावन नगरपालिका–४ हरैया निवासी बिल्टु राय यादवलाई पक्राउ गरिएको थियो।
डिभिजन वन कार्यालय रौतहटअन्तर्गत रहेको वृन्दावन सब–डिभिजन वन कार्यालय बल्लरीको गस्ती टोलीले उनलाई खयरघारी वन क्षेत्रमा अतिक्रमणका लागि वन फडानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको थियो। आरोप अनुसार यादवले वृन्दावन नगरपालिका–१ स्थित खयरघारी वन क्षेत्रभित्र करिब ०.५ कठ्ठा क्षेत्रफलमा रहेको झाडी तथा बुट्यान खुकुरी प्रयोग गरी फाँडेर वन अतिक्रमण गर्ने प्रयास गरेका थिए।
वन कार्यालयका अनुसार पछिल्लो समय वन गस्ती टोलीलाई अझ व्यवस्थित, चुस्त र प्रभावकारी बनाइएको छ। करिब डेढ दशकयताकै सबैभन्दा सक्रिय रूपमा वन गस्ती परिचालन गरिएको दाबी गरिएको छ। यसका कारण विगतमा व्यापक रूपमा हुने गरेको वन पैदावार चोरी निकासीमा ठूलो नियन्त्रण कायम भएको वन कार्यालयको भनाइ छ।
स्थानीयवासीहरूका अनुसार अहिले पनि कतिपय स्थानमा छिटफुट रूपमा वन पैदावार चोरीका प्रयास हुने गरे पनि गस्ती टोलीले समयमै निगरानी र नियन्त्रण गर्ने गरेका कारण ती गतिविधि सफल हुन सकेका छैनन्।
गरुडा नगरपालिका निवासी अन्होती गुप्ताले डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको कार्यशैलीको प्रशंसा गर्दै रौतहटमा हालसम्म यति कडा, निष्पक्ष र सक्रिय वन अधिकृत नआएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा वन व्यवस्थापनमा देखिएको सुधारले स्थानीयवासीहरूमा वन कार्यालयप्रति विश्वास बढाएको छ।
वन क्षेत्र संरक्षण, अवैध गतिविधि नियन्त्रण तथा वृक्षारोपण अभियानलाई निरन्तरता दिइएमा रौतहटका वन क्षेत्र आगामी वर्षहरूमा अझ समृद्ध र सुरक्षित बन्न सक्ने अपेक्षा स्थानीयवासीहरूले गरेका छन्।