रौतहटको कटहरियामा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डट्रीज प्रा.लि डुमरियाले डोंगा पुजा गरेको छ । चालु आर्थिक बर्षमा उखु सिजन क्रसिङ्ग गर्नको लागि बिधिवत रुपले एक कार्यक्रमका बिच डोगा पूजा गरेको हो । गत बर्षको उखु क्रसिङ्ग सिजन पुरा गरेर बन्द भएको चिनि मिलले यस बर्ष सञ्चालनको लागि शुभ मुहुर्त निकालेर वैद्धिक मन्त्र उच्चारण गरी विच डोंगा पूजा गरेको छ । त्यसअघि मिल्सको विभिन्न पार्टसको मर्मत सम्भारको काम गरिसकेको जनाएको छ । डोंगा पुजा सुरु भएपछी सोमबार देखि उखु क्रसिङ्ग थाल्ने चिनि मिलका प्रबन्धक निर्देशक अभय प्रकाश जैसवालले बताउनुभयो । उखु लिएर मिलमा आएको पहिलो किसानलाई फुलको माला र दोसाला ओढाएर स्वागत समेत गरीएको उहाँले जानकारी दिनुभयो । चिनी बनाउनको लागि किसानसँग खरिद गरिएको उखु पेल्नको लागि सबभन्दा पहिले राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भनिन्छ । हरेक बर्ष झै मिल संचालन गर्नुअघि डोगालाई पुजा गर्ने धार्मिक मान्यता रहेको सोही अनुरुप गरिएको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डट्रीज प्रा.लि डुमरियाले जनाएको छ । मिल्सले रौतहट र बाराका किसानबाट उखु किनेर क्रसिङ्ग गर्दै आएको छ । उखु क्रसिङ्ग गर्नको लागि विभिन्न स्थानबाट कृषकले मिल परिसरमा उखु ल्याईसकेका छन् । अहिले बजारमा चिनिको अभाव देखिएकाले मिल संञ्चालन गर्न लागिएको जनाईएको छ । यहाँका उखु कृषकले चिनि मिल संञ्चालनमा नआएपछि खाँडसरी (सख्खर उद्योग)लाई उखु दिने गरेका छन् । खेतमा नै उखु सुक्न थालेको र अन्य बाली लगाउन ढिलाई भएपछि खाँडसरीलाई उखु दिएको कृषकहरुको भनाई छ । तत्काल नगद पाउने भएपछि घाटा व्यहोरेर भएपनि खाँडसरीलाई उखु दिएको कृषकहरु बताउँछन् । रौतहटमा करिब १० हजार विगाहा जमिनमा उखु खेती हुने गरेको अनुमान गरिएको छ । यहाँका करिब ६ हजार किसान उखु खेतीमा निर्भर रहने गरेको उखु उत्पादक संघ रौतहटले जनाएको छ ।