छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता छ । छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्र भारतबाट रू. चार करोडको केरा आयात गरिएको छ । जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्ने गरेको पाईदैन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिड लगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदा हुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाई छ । समितिका सचिव भुवनेश्वर पूर्वेका अनुसार स्थानीय स्तरमा माग भए बमोजिम उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको हो । गत वर्ष रू. पौने दुई करोड भन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो भने यस वर्ष झण्डै ७० ट्रक केरा भित्र्याइएको उहाँले जानकारी दिनुभयो । छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको छ ।