छठको एक दिन पूर्व गरिने खरना विधिको दिनबाट ’सामा–चकेवा’ पर्व प्रारम्भ भएको छ । धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्व मध्ये अत्यन्त लोकप्रिय पर्व मानिन्छ । दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामनासहित गीति शैलीमा गाउँदै खेल्दै रामाउँदै लोक पर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । नौंदेखि एघारौं दिनसम्म खेलिने उक्त पर्वमा चंगेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामा, चकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझदेखि मध्यरात दिनसम्म खेलिने परम्परा छ । रौतहट सहित तराई मधेशका अधिंकाश गाँउमा समाचकेवा पर्वको रौनक छाएको छ । चेलीबेटी र माइती पक्षका बीच रहेको अटूट श्रद्धा एवम् प्रेमको प्रतीक सामा–चकेवा पर्व मनाउने गर्दछन् । सामामा खेलिने त्रममा गाइने लोकगीतले भाषा संस्कृति तथा परम्परालाई जोगाउनुका साथै परम्परादेखि चलदै आएको परम्परालाई निरन्तरता दिएको चन्द्रपुर ६ का कमलेश चौधरीले बताउनुभयो । उहाँका अनुसार दाजुभाइ र दिदीबहिनीप्रतिको प्रेम दर्शाउने पर्वलाई जोगाएको छ । यो पर्वका लागि द्वितीया तिथिका दिनदेखि दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । दाजुभाइको दीर्घायुको कामनाका गर्दै गीत गाउँदै सामा खेल्ने परम्परा बषौँ देखि चलि आएको उहाँले बताउनुभयो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार मानिने यस पर्वले भाइ–बहिनीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्ने विश्वास समेत रहँदै आएको छ । तराई मधेशको लोकपर्व मानिने सामा तराईका बजार क्षेत्रमा लोप हुँदै गएपनि गाउँघरतिर अझै पनि यसको महत्व उत्तिकै रहेको पाईन्छ । ‘सामा–चकेवा’ पर्र्वमा गाइने भाकामा दाजुभाइका नाम उच्चारण गर्दै गीत गाउने यस पर्व खेलेको दशौं वा एघारौं दिन पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवा भसाउने (विसर्जन) गरेपछि लोकपर्व सामा समापन हुने गर्छ । पद्मपुराण, स्कन्दपुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ । ‘सामा–चकेवा’ लोकपर्वको शुभारम्भ द्वापरयुगमा भगवान कृष्णको समयदेखि नै भएको मानिन्छ ।द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षाेल्लास र लोकाचारका साथ मनाउने यस पर्वमा विशेष गरी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् ।