रौतहटको चन्द्रनिगाहपुरमा सप्ताहव्यापी रुपमा मनाईएको राष्ट्रिय कर दिवस विहिबार अन्तरक्रिया कार्यक्रम गरेर समापन गरिएको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ कर दिवस मनाईएको हो । चन्द्रपुर स्थित होटल हिमालयनको सभाहलमा भएको कार्यक्रममा कर शिक्षाका बारेमा चर्चा गरीएको थियो । करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा भएको कार्यक्रममा चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटा (सुरेन), रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष देवकी नेपाल , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी र व्यापारी सुनिल साह लगायतको आतिथ्यता रहेको थियो । चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सापकोटाले व्यवसायीलाई करको दायरामा ल्याउन सचेतना बढाउनुपर्ने, व्यवसायीको आत्मबल बढाउनुपर्ने तथा स्थायी कर नीति हुनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा वृद्धि गर्नुपर्ने, कर नीतिको स्थायित्व हुनुपर्ने, पुँजीगत खर्च बढाउनुपर्ने तथा खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले साना तथा मझौला व्यवसायीलाई कर सचेतना र विभिन्न सुविधा दिइनुपर्ने उल्लेख गर्नुभयो । सो कार्यक्रममा कर अधिकृत पिताम्बर न्यौपानेले करदाता एवम् व्यवसायीहरुले करको परिपालन गर्नु पर्ने बताउनुभयो । करदाता सेवा कार्यालय अन्तर्गत पर्ने चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, फतुवा बिजयपुर, कटहरिया र गढीमाई नगरपालिकामा जुनसुकै बेला अनुगमन तथा निरिक्षण हुने उहाँले जानकारी दिनुभयो । यदि करको परिपालन नगरेको पाईएमा आय कर ऐन २०५८ नियमावली २०५९ मू.अ.क. ऐन २०५२ तथा नियमावली २०५३ र अन्तशुल्क ऐन २०५८ तथा नियमावली २०५९ साथै प्रचलित कानुन बमोजिम दण्ड, जरिवाना तथा कर निर्धारण हुने उहाँको भनाई छ । कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९ मा करदाता सेवा कार्यालय चन्दपुरको सेवा क्षेत्रबाट सवभन्दा बढी आयकर दखिला गरेकोमा नव विकास बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ । व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रसिद्ध ईन्टरप्राइजेज चन्द्रपुरलाई पनि सम्मान पत्र प्रदान गरिएको हो । गएको मंसिर १ गते करदाता सेवा कार्यालय चन्द्रपुरले कार्यालयमा आएको पहिलो सेवाग्राहीलाई स्वागत÷सम्मान गरी कर सप्ताहकोे शुभारम्भ गरेको थियो । गौरमा पनि विभिन्न कार्यक्रम गरी करदाता सेवा कार्यालयले राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाएको हो । कर सप्ताह अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरी समापन गरीएको जनाईएको छ । मङ्सिर महिनाको पहिलो हप्ता कर सप्ताहका रूपमा मनाइने गरीन्छ । करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरले यो अभियानमा करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गरिएको जनाएको छ । यी कार्यक्रमहरूबाट आम नागरिकमा कर सम्बन्धी जागरण आउने, करको दायरा थप विस्तार हुने तथा गुणस्तरीय सेवा प्रवाह भई स्वेच्छिक कर सहभागिता अभिवृद्धि हुने भएकोले दिवसको महत्तव रहेको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।