अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्वित प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरेको छ । भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै निलम्वित नगर प्रमुख थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
निलम्वित थापा र उपमेयर लीलाकुमारी मुक्तानसहित ६ जनाले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरे बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरेले दिनुभयो ।
उहाँका अनुसार उनीहरु ६ जनालाई नै छुट्टा छुट्टै रकम विगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । नगरपालिकाको वडा नम्बर चार र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड २९ लाख ३४ हजार ८९७ रकम हिनामिना तथा दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो । वागमती नगरपालिकामा मेयर र उपमेयरसहित अधिकांश वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित छन् । १२ वटा वडाध्यक्षमध्ये कांग्रेस र एमालेका एक एकजना मात्र छन् ।