जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको लागि सभापति पदमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट सभापति पदका उम्मेदवार संगम श्रेष्ठलाई निकै वलिया उम्मेदवारको रुपमा हेरिएको छ । यस अघि वि.स. २०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा विजयी भएका श्रेष्ठ आफ्नो दोस्रो कार्यकालको लागि चुनावी मैदानमा छन् । यसै सिलसिलामा इहाइवे न्यूजले श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अश :
तपाईंको उम्मेदवारी किन र के का लागि?
मेरो उम्मेदवारी विद्यार्थीको बिचमा बसेर विद्यार्थीको दुखसुखमासाथ दिने विद्यार्थी नेतृत्व स्थापनाको लागि हो। कुनै लहड , रहर वा आवेगमा आएर उमेदवार बन्ने अभिष्ट पूरा गर्न मात्र नभई विद्यार्थीका हक अधिकारका निम्ति निरन्तर लड्ने सङ्कल्पसहित अघिल्ला कार्यकालमा सुरु गरेका तर पूरा भैनसकेका विभिन्न महत्वपुर्ण कामहरु पूरा गर्न मेरो उम्मेदवारी हो।
तपाईंको जित्ने आधार के?
हाम्रो जित्ने महत्वपूर्ण आधार भनेको हामीले पछिल्लो डेढ दशकदेखि विद्यार्थीको बिचमा बसेर गरेको विद्यार्थीका कामहरु हामीले गरेका शैक्षिक सुधारहरु, हामिले गरेका भौतिक विकाशहरु र विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी साथीहरुको हामीप्रतिको विश्वास र भरोसा नै हाम्रो जित्ने महत्वपूर्ण आधार हो।
तपाईंलाई विद्यार्थी मत किन दिने?
हामीले विद्यार्थीका पक्षमा गरेका कामहरु, हामीले उठाएका शैक्षिक मुद्दाहरु र विद्यार्थी साथीहरुसँग हामीले गरेका व्यवहारहरु हेरेर र जनज्योति क्याम्पसको समग्र विकासको निम्ति विद्यार्थीले हामीलाई मत दिनेछन्।
तपाईको संगठन विरुद्ध वाम गठबन्धन र जसपाको विद्यार्थी चुनावी मैदानमा छन्, कतिको दवाव महशुस गर्नुभएको छ?
हामीलाई पछिल्लो १ महिनादेखि मात्रै चुनाव लागेको होइन हामी निरन्तर विद्यार्थीको बिचमा नै छौँ । विद्यार्थीका हरेक दुखसुखमा साथमा छौँ । यसर्थ मैदानमा भएका अन्य मित्र सङ्गठनहरुले जति नै गठबन्धन गरे पनि हामी उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिएका छौँ। हामीलाई कुनै दवाव छैन् , जित्ने आत्मविश्वास छ ।
अन्त्यमा जनज्योतिमा अध्ययनरत विद्यार्थीलाई के भन्न चाहनुहुन्छ?
अन्त्यमा म विद्यार्थी साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने हिजो तपाँईहरुको दुखसुखमा जो साथमा थियो उसैलाई मत दिनुहोस । यो स्ववियु निर्वाचन केवल निर्वाचनमात्र होइन तपाँईहरुको परीक्षा पनि हो । विश्वविद्यालय तहमा अध्ययन गर्ने तपाईहरु आफै सही गलत छुट्याउन सक्नुहुन्छ । यसकारण चैत्र ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघलाई मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछुँ ।