रौतहटको चन्द्रनिगाहपुरमा बसेको प्रेस सेन्टर नेपालको जिल्ला कार्य समितिको वैठकमा विविध विषयमा छलफल गर्नुका साथै निर्णयहरु समेत गरेको छ । पत्रकारीता क्षेत्रमा देखिएको समस्या , चुनौती वा अगामी रणनिति र प्रेस सेन्टर नेपालको भुमिका लगायतका विविध विषयमा छलफल भएको हो । प्रेस सेन्टर रौतहटले गरेको कार्यको चर्चा र समिक्षा समेत सो वैठकमा गरिएको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश संसदीय दलका नेता भरत साहले पाटीले गरेका राम्रा कामको प्रचार प्रसार कम भएको उल्लेख गर्दै यसमा प्रेस सेन्टर नेपालमा आवद्ध भएका पत्रकारहरुको भुमिका अहम रहने बताउनुभएको छ । उहाँले पार्टीको नीति तथा विचारलाई जनमानसमा लैजानका लागि प्रेस सेन्टर नेपालले काम गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारलाई जनताले के चाहन्छन्, जनता के गर्दा सहजै मन जित्न सकिन्छ भन्ने पत्रकारलाई राम्रोसँग थाहा भएकाले त्यसतर्फ ध्यान दिन पनि उहाँले निर्देशन दिनुभयो । प्रेस सेन्टर नेपाल क्रान्तिकारी पत्रकारहरूको आस्थाको केन्द्र मात्र नभई आम शोषित पीडित, उपेक्षित समुदायको आशा र मुक्तिको केन्द्र बन्नु पर्ने धारणा राख्नुभयो । नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्ने उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश संसदीय दलका उपनेता तथा केन्द्रिय सदस्य यूवराज भट्टराई (समिर) ले दलीय राजनीतिक वातावरणमा प्रेस विभाजित हुनु स्वाभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा गणतन्त्र, संघीयता, समावेशिता जस्ता मुद्धा स्थापित गराउन प्रेसले खेलेको सकारात्मक भूमिकाले चर्चा गर्नुभयो । संविधान र संघीयता कार्यान्वयनका लागि सकारात्मक भूमिका खेल्न उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । सो कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनोज साहले संगठनका आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र पेसागत सुरक्षालगायतका विषयमा ध्यान दिनु पर्ने बताउनुभयो । वैठकमा प्रेस सेन्टरका जिल्ला अध्यक्ष डिल्ली वहादुर कार्की (सुव्वा) , जिल्ला सचिव रमेश कुमार यादव, प्रेस सेन्टरका प्रचार विभागका रानी साह, प्रेस सेन्टरका सदस्य पवन कुमार उपाध्याय लगायतको उपस्थिती रहेको थियो । २०६१ साल माघ १५ गते माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको स्थापना भएको हो । प्रेस सेन्टर नेपालको स्थापनाकालमा यसको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ रहेको र त्यसपछि पहिलो राष्ट्रिय भेलाबाट क्रान्तिकारी पत्रकार संघ नामाकरण गरिएको थियो । २०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय गरेको थियो । त्यसपछि एमालेसहितको एकता पछि प्रेस संगठन नेपाल नामाकरण भएको संगठन पुन एमाले र माओवादी अलग अलग भएपछि प्रेस सेन्टरको रुपमा पुनस्र्थापित भएको हो ।