काठमाडौं,१४ बैशाख//
श्रम संस्कृति पार्टीले देशभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सुरु गर्ने घोषणा गरेको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेका बेला त्यसको विपक्षमा उभिँदै सुकुमबासीलाई एकजुट हुन आह्वान गरेका हुन्।
उनले पार्टीका सबै जिल्ला र पालिका समितिहरूलाई देशव्यापी रूपमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
साम्पाङले ‘यो देश गरिबहरूको पनि हो’ भन्दै सुकुमबासी तथा अव्यवस्थित बसोबासी एकता अभियानको संयोजन श्रम संस्कृति पार्टीले गर्ने जानकारी दिएका छन्।
उनले सुकुमबासी समुदायलाई सचेत रहन आग्रह गर्दै भनेका छन्,
“सुकुमबासी तथा अव्यवस्थित बसोबासी हो, होसियार रहनु है! संगठित भएर बस्नु। सरकारको चाल ठिक छैन।”
त्यस्तै, उनले पार्टीका कार्यकर्ता तथा अभियन्तालाई गरिब, विपन्न र दुब्ला समुदायको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।