काठमाडौं ,१४ बैशाख//
गत शनिबार साँझदेखि अवरुद्ध भएको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ।
शनिबार रोशी खोलामा आएको बाढीका कारण डाइभर्सन बगेपछि अवरुद्ध भएको राजमार्ग मर्मत कार्य सम्पन्न गरी सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी सञ्चालनमा ल्याइएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश ले जानकारी दिएका छन्।
उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहकार्यमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो।
बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा रहेका डाइभर्सन बगेका थिए। त्यस्तै सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा पनि डाइभर्सन क्षतिग्रस्त भएको थियो।
हाल अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गरिँदै आएको छ।
यात्रु तथा सवारी चालकलाई आवश्यक जानकारीका लागि नेपाल प्रहरी को १०० तथा ट्राफिक प्रहरी को १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।