रौतहट,साउन १२ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाक्रमलाई लिएर नेपाल चिकित्सक संघ आक्रोशित बनेको छ। चिकित्सकमाथि भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै आन्दोलनमा उत्रिएको संघले अब देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. सुवास कुमार चौधरीको नेतृत्वमा संघले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामाथि भएको प्रहारलाई केवल एउटा अस्पतालको घटना नभई सम्पूर्ण स्वास्थ्य क्षेत्रमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ। संघले सोमबार जारी गरेको विज्ञप्तिमार्फत वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, अस्पतालभित्र गरिएको तोडफोड र त्यसपछिको प्रशासनिक व्यवहारप्रति गम्भीर आपत्ति जनाएको हो।
संघका अनुसार आक्रमणमा परी चिकित्सक डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुनु र अस्पतालको शान्त वातावरणलाई अशान्त बनाइनु स्वास्थ्य सेवामाथिको प्रत्यक्ष चुनौती भएको संघको निष्कर्ष छ। घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार कडा कारबाही गर्न संघले सरकारसँग माग गरेको छ।
घटनापछि दोषीलाई कारबाही गर्न माग गर्दै चिकित्सकहरूको टोली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको थियो। तर, त्यहाँ प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा प्रहरीले चिकित्सकहरूमाथि नै दुर्व्यवहार गरेको आरोप संघले लगाएको छ। संघका अनुसार केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र अपमानजनक व्यवहार गरिएको थियो।
संघका अध्यक्ष डा. सुवास चौधरीले स्वास्थ्यकर्मीमाथि भएको हिंसा र त्यसको विरोध गर्न पुगेका चिकित्सकहरूमाथि राज्य संयन्त्रबाट गरिएको व्यवहार झन् गम्भीर विषय भएको बताएका छन्। उनले चिकित्सकलाई असुरक्षित बनाउने र मनोबल गिराउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्। चिकित्सकहरूको सम्मान र सुरक्षाको प्रश्नमा संघ कुनै सम्झौतामा नजाने उनको भनाइ छ।
संघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकामाथि समेत प्रश्न उठाएको छ। चिकित्सकहरूको मानमर्दन हुने गरी भएको व्यवहारका लागि सम्बन्धित अधिकारीमाथि पनि आवश्यक कारबाही हुनुपर्ने संघको माग छ।
चिकित्सकमाथि भएको दमनको विरोधस्वरूप नेपाल चिकित्सक संघले साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय छलफलपछि सार्वजनिक गर्ने जनाएको छ।
अध्यक्ष डा. सुवास चौधरीले चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। स्वास्थ्यकर्मीमाथि बारम्बार हुने आक्रमण रोक्न राज्य गम्भीर नबने आन्दोलन अझ सशक्त बन्ने चेतावनी पनि उनले दिएका छन्।
संघले आन्दोलनका कारण बिरामी तथा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने जनाएको छ। चिकित्सकको सुरक्षामाथि प्रश्न उठेको अवस्थामा उपचार प्रणाली नै संकटमा पर्ने भएकाले सरकारले तत्काल संवेदनशीलता देखाउनुपर्ने संघको निष्कर्ष छ।