रौतहट,साउन १२ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाले स्वास्थ्य क्षेत्र तरंगित बनेको छ। घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले अब देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र त्यसपछिको घटनाक्रमप्रति गम्भीर आपत्ति जनाइएको छ। संघले नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथिको हिंसालाई स्वास्थ्य सेवामाथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ।
संघका अनुसार घटनामा चिकित्सक डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले अस्पतालभित्रको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको संघको भनाइ छ। विज्ञप्तिमा घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए। तर, प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताकै क्रममा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकहरूमाथि दुर्व्यवहार गरिएको आरोप संघले लगाएको छ। चिकित्सकहरूमाथि गालीगलौज र अपमानजनक व्यवहार गरिएको भन्दै संघले उक्त घटनाको घोर भर्त्सना गरेको छ।
अध्यक्ष डा. बद्री रिजालले चिकित्सकको सुरक्षामाथि निरन्तर चुनौती थपिँदै गएको भन्दै राज्य संयन्त्र नै स्वास्थ्यकर्मीप्रति असंवेदनशील देखिएको बताएका छन्। उनले उपचारमा खटिएका चिकित्सकलाई असुरक्षित बनाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। चिकित्सकको सम्मान, सुरक्षा र पेशागत गरिमाको रक्षाका लागि संघ अन्तिमसम्म संघर्ष गर्न तयार रहेको उनको भनाइ छ।
संघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकामाथि पनि प्रश्न उठाएको छ। चिकित्सकहरूको मानमर्दन हुने गरी भएको व्यवहारका लागि सम्बन्धित अधिकारीमाथि समेत कारबाही हुनुपर्ने संघको माग छ।
राज्यबाट भएको दमनको विरोधस्वरूप नेपाल चिकित्सक संघले साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ।
अध्यक्ष डा. बद्री रिजालले सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्। स्वास्थ्यकर्मीमाथि हुने हिंसा र दमनको अन्त्य नभएसम्म आन्दोलन नरोकिने संकेत पनि संघले दिएको छ।
संघले आन्दोलनका कारण बिरामी तथा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने जनाएको छ। चिकित्सकलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता नदिए स्वास्थ्य सेवा प्रणाली नै संकटमा पर्न सक्ने चेतावनी संघले दिएको छ।