रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुरका नगर सभापति अरुण लामाले संगठन विस्तार अभियानलाई वडा तहसम्म तीव्रता दिएका छन्। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लामाको नेतृत्वमा चन्द्रपुर नगरपालिका–१० स्थित परडिया टोलमा आयोजित भेलामार्फत दर्जनौँ युवा रास्वपामा प्रवेश गरेका छन्।
टोल समिति विस्तार र युवालाई संगठित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नवप्रवेशी युवालाई नगर सभापति लामाले पार्टीमा स्वागत गरेका हुन्। क्यान्डिडेट क्लबमा आवेदन दिएलगत्तै उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको एक्शन टिम (RAT) तथा पार्टीमा आबद्ध गराइएको जनाइएको छ।
पार्टी प्रवेश कार्यक्रममा सभापति लामाले नवप्रवेशी युवालाई स्वागत गर्दै वडा नम्बर १० मा संगठन विस्तारका लागि सक्रिय भूमिका निर्वाह गर्ने वडा समितिलाई धन्यवाद दिएका थिए। युवाको सहभागिताले पार्टी संगठनलाई थप गतिशील र सशक्त बनाउने उनको विश्वास थियो।
स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर रास्वपाले चन्द्रपुरका विभिन्न वडामा संगठन विस्तार र युवा परिचालनलाई प्राथमिकता दिइरहेको छ। परडिया टोलमा भएको पछिल्लो कार्यक्रमलाई पनि लामाले वडा तहमा पार्टीको आधार बलियो बनाउने अभियानका रूपमा अघि बढाएका छन्।
कार्यक्रममा नगर समितिका उपसभापति राजकिशोर, नगर सदस्य सागर चौधरी तथा पार्टी नेता उदयनारायण सापकोटालगायतको उपस्थिति थियो। वडा सचिव उमेश साहले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन पार्टी सदस्य रामबाबु पटेलले गरेका थिए।
दर्जनौँ युवाको प्रवेशसँगै चन्द्रपुर–१० मा पार्टीको संगठन थप विस्तार हुने र आगामी निर्वाचनमा त्यसले सकारात्मक प्रभाव पार्ने विश्वास रास्वपा नेताहरूले व्यक्त गरेका छन्।